• गृहपृष्ठ
  • वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग श्रममन्त्रीको छलफल

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग श्रममन्त्रीको छलफल

Nov 30th, 2021

काठमाडौ, मंसिर १४
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएकाछन । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र अवउप्रान्त त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताएका हुुन ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनिहरुले सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कंनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए । साथै उनिहरुले हातमा सीप नहुँदा विदेशी भुमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए । गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्युन तलवमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुर्नमिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताए ।