वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन

Nov 28th, 2021

वीरगञ्ज, १२ मङ्सिर /रास

वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्ने छ ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जीनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो ।

मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ । यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको सङ्ख्या पनि बढ्दो छ ।

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ ।

शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य सुरु गरिसकेको जनाएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत सङ्कलन कार्य सम्पन्न भइसकेको इञ्जीनियर कर्णले जानकारी दिनुभयो ।

“वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्याङ्कन भइरहेको छ”, उहाँले भन्नुभयोे । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ ।

उहाँका अनुसार यहाँ साना, मझौला र ठूला गरी करिब २०० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्याङ्कन गर्ने काम गरिरहेको छ ।

उद्यमशीलताका लागि नबिल बैंकसँग सम्झौता

यहाँस्थित वीरगञ्ज पब्लिक कलेजमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षालाई थप प्राथमिकता दिने उद्देश्यले नबिल बैंकसँग सहकार्य हुने भएको छ । यसका लागि ती दुई निकायबीच सम्झौता समेत भएको हो ।

निजी क्षेत्रको बैंक नबिलको सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सामाजिक उद्यमीअन्तर्गत प्रदेश नं २ लागि उक्त कलेज र बैंकबीच यस्तो सम्झौता भएको छ । यस कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ देखि ६० वर्षसम्मका उद्यमशीलतामा रुचि राख्ने र समाजलाई सकारात्मक योगदान गर्न चाहने व्यक्तिलाई उद्यमशीलतासम्बन्धी विविध तालिम दिने उद्देश्यले उक्त सम्झौता भएको हो ।

स्थापनाकालदेखि नै आधारभूत शिक्षासँगसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको कलेजले अहिलेको समयमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षाले मात्र देश अनि समाजलाई आर्थिकरूपमा सबल बनाउन सक्छ भन्ने उद्देश्यले विभिन्न व्यावसायिक एवं व्यवसायी बनाउने तालिम प्रदान गर्दै आएको छ ।

वीरगञ्जमा कुशल व्यवस्थापक र मानवीय व्यावसायिक स्रोतको उत्पादन गर्ने लक्ष्यसहित सो कलेज विसं २०५७ मा स्थापना भई व्यवस्थापनमा प्लसटु, बिबीए, बिबीएस, बीआइएम, एमबीए, एमबीएसको अध्ययन भइरहेको गुणस्तरीय पठनपाठनमा काठमाडौँ बाहिरका कलेजमा उत्कृष्टता प्रदान गर्दै आएको हो ।