• गृहपृष्ठ
  • भ्रमण आयभन्दा व्यय उच्च , महामारीमा पनि पढ्न जाने बढे

भ्रमण आयभन्दा व्यय उच्च , महामारीमा पनि पढ्न जाने बढे

Nov 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक १८

भ्रमण आयका तुलनामा भ्रमण व्यय ठूलो मात्रामा बढेको देखिएको छ । घुम्न तथा पढ्न जानेहरु बढेसँगै भ्रमण व्यय बढेको हो ।

महामारीका कारण विदेशबाट नेपाल घुम्न आउनेहरु बढ्न सकेका छैनन् । तर, पढ्नका लागि बिदेश जानेहरु भने नियमित बढेका छन् । भ्रमण व्यय २४७.५ प्रतिशतले वृद्धि भई १० अर्ब २८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ६ अर्ब ३७ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २ अर्ब ५१ करोड रहेको थियो ।

त्यस्तै भ्रमण आय १७७.२ प्रतिशतले वृद्धि भई २ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९७ करोड ६९ लाख रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तर, महामारीका समयमा पनि बैदेशिक लगानीमा भने बृद्धि भएको छ । यो वर्षको भदौ मसान्तसम्ममा यस्तो बैदेशिक लगानी ३ अर्ब ४ करोड रहेको देखिएको छ । गत वर्ष यस्तो खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रहेको थियो ।

महामारीका समयमा आएको यो बैदेशिक लगानी प्रतिबद्धता मात्रै होइन । स्वदेशमा नै भित्रिएको रकम हो । तर स्वदेशमा आएको यो रकममा बृद्धि भएको देखिएपनि यसले मुलुकको सोधनान्तर घाटालाई भने थेग्न सकेको छैन ।

झिनो मात्रामा मात्रै आएको रकमले यस्तो सोधनान्तर घाटा थेग्न नसकेको हो । यो अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।

२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३०६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।