• गृहपृष्ठ
  • थप ३२ जना नेपाली अफगानिस्थानबाट स्वदेश फिर्ता

थप ३२ जना नेपाली अफगानिस्थानबाट स्वदेश फिर्ता

Oct 30th, 2021

काठमाडौ, कात्र्तिक १३

अफगानिस्तानबाट उद्धार भई थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएकाछन । यससंगै हालसम्म कूल नौ सय ४० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आईपुगेका हुुन ।

परराष्ट्र मन्त्रालयका अनुसार आज नेपाली नागरिकहरु अनौपचारिकरुपले वैदेशिक रोजगारीको लागि स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित बिभिन्न स्थानहरुमा स–सानो समूहमा छरिएर रहनु भएको थियो । उहाँहरुलाई एउटै समुहमा आवद्ध गरी बस्ने खाने सुविधा सहित सुरक्षितरुपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आईडिजी कम्पनी मार्फत गरिएको थियो । अब अफगानिस्तानमा त्यहांस्थित संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक कार्यहरुमा संलग्न केही नेपालीहरु मात्र रहेकाछन ।

संयुक्त राष्ट्रसंघका निकायहरुले अति आवश्यक मानवीय तथा विकास सम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षितरुपमा नेपाल फिर्तिको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा नेपाली नागरिकहरु अफगानिस्तानमा रहेको हुंदा त्यहां विकसित घटनाक्रमलाई प्रारम्भ देखिनै परराष्ट्र मन्त्रालयले अनुगमन गरिरहेको र संभावित सुरक्षा जोखिमको आँकलन गरी स्वदेश फिर्ता गर्ने कार्यका लागि कूटनीतिक पहल थालनी गरिएको थियो।त्यस सिलसिलामा मन्त्रालयले काबुल तथा काठमाण्डौस्थित मित्र राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानका राजदूतावासहरु, काबुलस्थित नेटो सैन्य अधिकारीहरु, संयुक्त राष्ट्र संघीय नियोग तथा कार्यालयहरु, अन्य अन्तर्राष्ट्रिय संघ संस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनीहरु आदिका स्थानीय कार्यालय एवं उनीहरुका मूख्यालयहरु मार्फत कूटनीतिक पहल र नेपाली नागरिकको सुरक्षित उद्धार एवं स्वदेश फिर्ताको कार्यमा सबै तह र चरणमा समन्वय, सहजीकरण र सहयोग गरिएको थियो ।

यस कार्यमा मित्र राष्ट्रहरु र माथि उल्लेखित सबै संघ संस्था एवं निकायहरुको हार्दिकतापूर्ण सहयोग मन्त्रालयलाई प्राप्त भएको छ । यस कार्यमा समन्वयका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षबाट प्रभावकारी समन्वय एवं सहजीकरण भएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा एक टोली गठन गरी उद्दार तथा स्वदेश फिर्ति कार्यको सहजीकरण र समन्वय गरिएको थियो । उद्दार र स्वदेश फिर्तिकाक्रममा कतार, कुवेत, यु.ए.इ., पाकिस्तान, लण्डन, वाशिङटन डि.सी. र न्यूयोर्क स्थित नेपाली नियोगहरु पनि परिचालन गरिएका थिए ।
उद्दार र स्वदेश फिर्तिका लागि सहयोग पुर्याउनु हुने सबै स्वदेशी निकाय, रोजगारदाता, मित्रराष्ट्रहरु तथा संयुक्त राष्ट्र संघीय निकायहरुप्रति मन्त्रालय हार्दिक आभार प्रकट गरेको छ ।