बन्दीपुरका किसानलाई आलु बीउ वितरण

Oct 30th, 2021

तनहुँ, १३ कात्तिक /रासस

बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।

गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो । प्रतिकिलो रु ५४ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका किसानका लागि आवश्यक पर्ने आलुको बीउको लागि सूचना प्रकाशित गरी किसानको मागअनुरुप बीउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुको साथै उनीहरुको आयआर्जनमा सबल बनाउन गाउँपालिकाले सक्रिय भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रकोक्षेत्रमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायतका क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कार्यको समेत गाउँपालिका कार्यालयले सुरुआत गरिसकेको छ ।