• गृहपृष्ठ
  • श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया

श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया

Oct 28th, 2021

काठमाडौ, कात्र्तिक ११

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेकाछन । कार्यक्रममा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, नेपाली राजदुत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा थानेश्वर भुषाल, दुतावासका कर्मचारी सहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवाशीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमुलक भएको मन्त्री श्रेष्ठले बताए । कार्यक्रममा युएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतिबारे छलफल भएको थियो ।

नेपालको महत्वपुर्ण श्रम गन्तव्यका रुपमा रहेको युएईमा २ लाख भन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरुले कोभिड महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यन्वयनको बिषयमा ध्यानाकर्षण गराएका थिए । आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय वैठकमा सहभागि भएको मन्त्री श्रेष्ठ नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।