• गृहपृष्ठ
  • शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : मन्त्री पौडेल

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : मन्त्री पौडेल

Oct 27th, 2021

भक्तपुर, १० कात्तिक /रासस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताउनुभएको छ ।

संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताउनुभयो । उहाँले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

सो अवसरमा संस्थागत विद्यालय अभिभावक सङ्घका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई सङ्घले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

सङ्घीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक सङ्घलाई सहभागी गराई शिक्षाका नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानून निर्माणमा सहभागी गराउन आग्रह गर्नुभयो । उहाँले निःशुल्क शिक्षा भने पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष कोषबहादुर जिसीले अभिभावक सङ्घको सहभागितामा शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने, विद्यालय वर्गीकरण, अनुगमनमासमेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा व्यवस्था नहुँदा समस्या आएको मन्त्री पौडेललाई जानकारी गराउनुभयो ।

सङ्घका महासचिव रामचन्द्र सुवेदी, सचिव रामकृष्ण प्रजापतिलगायतले संस्थागत विद्यालयमा भएका समस्याकाबारेमा अवगत गराउनुभएको थियो ।