• गृहपृष्ठ
  • बेमौसमी वर्षाको असर : आन्तरिक पर्यटकको विजोग

बेमौसमी वर्षाको असर : आन्तरिक पर्यटकको विजोग

Oct 21st, 2021

म्याग्दी, ४ कात्तिक /रासस

परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो । मङ्गलबार बिहान जोमसोमदेखि हिँडेका उहाँको टोली बुधबार राति बेनी आएको थियो ।

“मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पीडा र सास्तीले बिर्सायो,” उहाँले भन्नुभयो, “लगातारको वर्षा र जीर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो ।” पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारांै यात्रुले दैनिकजसो सास्ती पाएका छन् । साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवतजावत हुन सक्दैनन् ।

मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोख्नुभयो । “जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवतजावतको व्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको विजोज भएको छ,” ललितपुरका दीपक विष्टले भन्नुभयो, “फसेको गाडी तान्न रु एक हजार तिर्नुप¥यो । होटल व्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन् ।”

दसँै लगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुःखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ । बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो ।

मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो । ‘‘दसैँको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुख पाइयो,’’ पोखराका तिलक पौडेलले भन्नुभयो ‘‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ ।’’

‘‘मनसुन सफा नभइ मुस्ताङ आउने हतारो नगरौं,’’ विराटनगरका हरि शर्माले भन्नुभयो,‘‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ ।’’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइँठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो । रुप्से र बेगखोलामा बाढी आउदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले जानकारी दिनुभयो । सीमित प्रहरी र स्थानीयवासीले मात्र जाम खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ प्याकेज बनाइ नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न रु दुई अर्ब ४९ करोड लागतमा सडक विस्तारको काम गरिरहेको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरेपनि निरन्तरको वर्षा, प्रतिकूल भूगोल र सवारीसाधनको अत्याधिक चापले समस्या भएको जनाएका छन् ।