मेस्सीको दुई गोलमा पीएसजीको जित

Oct 20th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ३ कार्तिक

यूईएफए च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा पीएसजीले आरबी लाइपजिगलाई ३-२ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन लिओनेल मेस्सीले दुई गोल गरे भने केलियन एमबाप्पेले एक गोल गरे ।आरबी लाइपजिगका एन्ड्रे सिल्भा र नोर्डी मुकिलेले एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

खेलको २८ औं मिनेटमा लाइपजिगका एन्ड्रे सिल्भाले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

दोस्रो हाफको ५७ औं मिनेटमा लाइपजिगका नोर्डी मुकिलेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर,खेलको ६७ औं मिनेटमा पीएसजीका लिओनेल मेस्सीले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मेस्सीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै पीएसजीले तीन खेलबाट सात अंक जोडेको छ र समूह (ए) को शीर्ष स्थानमा उक्लिएको छ । पराजित लाइपजिग अंक विहीन पुछारमा छ ।