• गृहपृष्ठ
  • मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गरः इन्सेक

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गरः इन्सेक

Oct 13th, 2021

काठमाडौ, असोज २७

मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेकले नेपाल सरकारसँग आग्रह गरेको छ । असोज २६ गते इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नु भएको हो । पीडित नागरिकहरुको अधिकार र न्यायको सुनिश्चितता गर्न नेपाल सरकारसँग इन्सेक जोडदार माग गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबिचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षिय रमेश परियार रहेको प्रहरीले जनाएको छ ।

मृतक परियारको छातीमा गोली लागेकाको र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा, शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इन्सेक रुपन्देही प्रतिनिधिका अनुसार औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका भनिएकाहरू र सुरक्षाकर्मीबिच झडप हुँदा सो घटना हुन पुगेको हो । सो घटनामा सशस्त्र प्रहरी बलका तर्फबाट अत्यधिक बल प्रयोग भएका कारण मानवीय क्षति भएको प्रारम्भिक सूचनाले देखाएको इन्सेकले जनाएको छ ।

सुकुम्बासी बस्तिका प्रदर्शनकारीलाई प्रदर्शनका क्रमम संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न पनि इन्सेकले अनुरोध गरेको छ ।