• गृहपृष्ठ
  • मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपतिबाट दुःख व्यक्त

मुगु र कास्की दुर्घटनाप्रति उपराष्ट्रपतिबाट दुःख व्यक्त

Oct 13th, 2021

काठमाडौ, असोज २७

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड दशैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीहरुको दशैँको फुलपातिको दिन दुर्घटनामा निधन भएको र दशैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा सम्माननीय उपराष्ट्रपतिज्यू स्तब्ध हुनुहुन्छ ।

उपराष्ट्रपतिले दुवै दुर्घटनामा निधन हुनुभएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभएको छ ।