• गृहपृष्ठ
  • महामारीमा पनि डिजिटल वालेट सञ्चालकहरु मालामाल, बढ्यो प्रयोग

महामारीमा पनि डिजिटल वालेट सञ्चालकहरु मालामाल, बढ्यो प्रयोग

Oct 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २७
महामारीका कारण मोबाइलबाट चलाउन मिल्ने वालेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ। डिजिटल वालेट प्रयोगकर्ता ६२ लाख बाट बढेर ९२ लाख पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अर्थात एक वर्षमै वालेट प्रयोगकर्ताको संख्या ३० लाखले बढेका छन् । कोरोना महामारीपछि डिजिटल कारोबार ह्वात्तै बढेको देखिएको छ । महामारीपछि वालेट प्रयोगकर्ता सँगै मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या पनि भारि मात्रामा बृद्धि भएको छ ।

बैकिङ प्रयोगकर्ता एक वर्षमै ३१ लाखले बढेका छन् ।लकडाउनको बिचमा नै स्कुलको फि, इन्टरनेट तथा बिजुलीको भुक्तानी गर्न बाध्य भएपछि यसले माबोइल बैकिङ प्रयोगकर्ता बढाएको हो ।

गत वर्षको साउन मसान्तसम्म १ करोड १४ लाख मोबाइल बैकिङ प्रयोगकर्ता थिए । जुन यो एक वर्षमा २७ प्रतिशतले बढेर १ करोड ४५ लाख पुगेका छन् ।

गत वर्षको चैतमा एकाएक कोरोना महामारी फैलिन सुरु गरेपछि सरकारले आकस्मिक रुपमा लकडाउनको घोषणा गर्याे । व्यवसायिक कारोबार ठप्प जस्तै भयो जसका कारण अर्थतन्त्र ओरालो दिशामा धकेलियो ।

सडकमा ओहोरदोहर गर्ने मानिसहरु घरमा टेलिभिजन र मोबाइल हेरेर बस्न बाध्य भए । यहि बाध्यताका बिचमा स्कुल तथा कलेजहरुले अनलाइनबाटै पढाई सुरु गरे । जसका लागि इन्टरनेटको बिल मोबाइल बैकिङ तथा वालेटबाट तिर्नुपर्याे ।

मोबाइलमा ब्यालेन्स र खाद्यान्न खरिदका लागि मोबाइल बैकिङबाट रकम तिर्नुपरेपछि महामारीले देशलाई डिजिटल कारोबारतर्फ जर्बजस्त रुपमा धकेल्यो । गत वर्षको चैत यता मात्रै मोबाइल बैकिङको कारोबार पटक २० लाख पटकले बढेको छ।

गत वर्षको साउनसम्म ५४ लाख कारोबार एटिएमबाट भएकोमा एक वर्षमा यस्तो कारोबार २६ लाखले बढेर ८० लाख पटक पुगेको छ । सरकारले अर्थतन्त्रलाई डिजिटलमा रुपान्तरण गर्ने भनेपनि कार्ययोजनाको अभावमा अहिले पनि डिजिटल कारोबार सहि रुपमा फस्टाउन नसकेको व्यवसायीको भनाई छ ।

महामारीले सबथोक डामाडोल पारिरहँदा धेरैलाई डिजिटल कारोबारमा भने अभ्यस्त बनाएको छ । अब सरकारले स्थानिय निकाय देखि केन्द्रसम्मका सबै कार्यालयमा डिजिटल माध्यम मार्फत रकम भुक्तान गर्ने व्यवस्था मिलाउन सके यसले आमउपभोक्ताको समय मात्रै हैन भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न सकिन्छ ।