• गृहपृष्ठ
  • जर्मनी २०२२ विश्वकपमा छनोट हुने पहिलो टिम

जर्मनी २०२२ विश्वकपमा छनोट हुने पहिलो टिम

Oct 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज २६

जर्मनी आगामी वर्ष विश्वकपमा आयोजक कतारमा सामेल हुने पहिलो टिम बनेको छ ।युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले नर्थ म्यासेडोनियालाई ४-० गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन टिमो वर्नरले दुई गोल, काई हवेर्त्ज र जमाल मुसियालाले एक-एक गोल गरे ।

दोस्रो हाफको ५० औं मिनेटमा काई हवेर्त्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।लगत्तै ७३ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ८३ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै जर्मनीआगामी वर्ष विश्वकपमा आयोजक कतारमा सामेल हुने पहिलो टिम बनेको छ ।जर्मनीले आठ खेलबाट २८ अंक जोडेको छ र समूह (जे) को शीर्ष स्थानमा छ । पराजित नर्थ म्यासेडोनियाको आठ खेलबाट १२ अंक छ ।