• गृहपृष्ठ
  • बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी, ७ जना नियन्त्रणमा

बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी, ७ जना नियन्त्रणमा

Oct 11th, 2021

काठमाडौ, असोज २५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई आज बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

सो आरोपमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क–३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामा पक्राउ परेका हुन् । भट्टराईले दशैं–तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताए ।

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाईरहेको छ । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।