• गृहपृष्ठ
  • दशै मनाउन ३५ अर्ब रकम राष्ट्र बैंकबाट बाहिरियो, बैकहरुको ढुकुटीमा जम्मा ९७ अर्ब

दशै मनाउन ३५ अर्ब रकम राष्ट्र बैंकबाट बाहिरियो, बैकहरुको ढुकुटीमा जम्मा ९७ अर्ब

Oct 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, असोज २५

दशै मनाउनका लागि आम मानिसहरुले असोज महिनामा मात्रै बैंक तथा वित्त संस्थाहरुबाट ३५ अर्ब रकम झिकेका छन् । भदौ महिनामा चलनचल्तीमा ६ खर्ब ६६ अर्ब नगद चलनचल्तीमा रहेकामा असोज महिनामा यो बढेर करिब ७ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

कुल रकमको १४ प्रतिशत बराबरको रकम बैंक तथा वित्त संस्थासँग रहेको छ। अर्थात करिब ९७ अर्ब बराबरको रकम बैंक तथा वित्त संस्थासँग रहेको छ । यसबाहेकको सबै रकम आमसर्वसाधारणसँग रहने गरेको छ ।

दशैका समयमा नयाँ नोट, नयाँ कपडा र खाद्यान्न खरिदका साथै भैपरि आउने खर्चका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेर राख्ने गर्छन् । जसका कारण दशैका समयमा बैंक तथा वित्त संस्थाबाट ठूलो रकम आमसर्वसाधारणको खल्तीमा पुग्छ ।

आइतबार साझसम्म नेपाल राष्ट्र बैकले १२ अर्ब बराबरको नयाँ नोट साटेको छ। यस्तो सटही सुविधा राष्ट्र बैंकले सोमबार सम्म उपलब्ध छ ।

राष्ट्र बैंकसँगै उपत्यकामा २७ वटा बाणिज्य बैंकका १० वटा साखाहरुबाट पनि नोट सटहि गर्न सकिन्छ । बैंकको आज कुन साखाले नयाँ नोट वितरण गर्दैछ भनेर जान्नका लागि सम्वन्धित बैंकको वेबसाइटमा हेर्नमिल्ने व्यवस्था गरिएको छ । यसरी नयाँ सटहीका लागि भनेर बैंक तथा वित्त संस्थाहरुले ६ अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकसँग सटही गरेर लगिसकेका छन् ।

प्रतिब्यक्ति १८ हजार ५ सय सम्म नयाँ नोट साट्न सकिन्छ । अन्य बैंकबाट पनि नयाँ नोट सटहि गर्न सक्ने व्यवस्था गरिएकाले बिगतका वर्षहरुमा जस्तो राष्ट्र बैंकमा नयाँ नोट साट्नेको घुइचो भने यसपालि देखिएन । गत वर्ष त महामारीका कारण राष्ट्र बैंकले नोट सटहि नै गरेको थिएन ।

दशैमा टिका लगाउँदा नयाँ नोट प्रयोग गर्ने प्रचलन छ । तर टिका लगाउने क्रममा नोटमा रङ र पानी लाग्दा नोट झुत्रो बन्छन् । नोेट झुत्रो भएपछि नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले वर्षमा करोडौ रकम खर्चने गरेको छ ।