• गृहपृष्ठ
  • बेँसीसहर–चामे सडक सञ्चालनमाः यात्रु तथा व्यवसायी हर्षित

बेँसीसहर–चामे सडक सञ्चालनमाः यात्रु तथा व्यवसायी हर्षित

Oct 6th, 2021

लमजुङ, २० असोज /रासस

अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध बनेको साढे तीन महिनापछि बेँसीसहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

गत असार १ गतेदेखि अवरुद्ध भएको यस सडकखण्डअन्तर्गत खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर भागमा गएको विभिन्न ठाउँको पहिरो हटाउनाका साथै सडक मर्मत गरेसँगै आज बिहानदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक योजना लमजुङका इन्जिनियर सुरज महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरी पहिरा हटाउन बाँकी मनाङ नासो गाउँपालिकास्थित बगरछाममा गएको ३०० मिटर पहिरो गत आइतबार साँझ ५ बजेदेखि हटाउन सुरु गरेर मङ्गलबार साँझसम्म हटाएको थियो । यसका साथै दलदल भएको विभिन्न ठाउँमा मर्मत गरेपछि आजबाट बेँसीसहरदेखि चामेसम्मै पूर्णरुपमा सडक सञ्चालन हुन थालेको छ ।” ठूलो पहिरा गएकाले दुईवटा डोजरको सहयोगले हटाउन सफल भएसँगै सवारी सञ्चालनमा आएको उहाँको भनाइ छ ।

खोत्रोमा अवरुद्ध भएको सडक तलबाट १० मिटर जति फिलिङ उठाएको छ । अवरुद्ध १५० मिटर लम्बाइसम्मै यस सडकमा फिलिङ गरी सडक मर्मत गरेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै, धारापानी १५० मिटर जति सडक नै भासिएको थियो । त्यहाँ पनि सोही खोत्रोको जसरी काम हुँदै गरे पनि तत्कालका लागि सो स्थानमा रहेका आमा समूह भवनबाट करिब २०० मिटर सडक तत्कालका लागि नयाँ खुलाएकाले सडक सञ्चालन भएको सो कार्यालयका प्रमुख महर्जनको भनाइ छ ।

यस खण्डमा उत्तरगय कन्सट्रक्सन प्रालि रसुवाले ठेक्का पारेर निर्माण गरेको छ । यस कम्पनीले खोत्रोदेखि तिमाङसम्मको खण्ड खुलाउनका लागि रु एक करोड ८२ लाख स्टिमेट भएकामा ९० लाखमा ठेक्का पारेर काम अघि बढाएको थियो । दसैँको मुखमै बेँसीसहर चामे सडक खुलेदेखि यात्रुहरुलाई सहज भएको छ । दसैँतिहार मनाउनका लागि जिल्ला प्रवेश गर्नेदेखि मनाङका व्यापारीलाई ठूलो राहत पुगेको छ । साथै चामेसम्मै सवारी पुग्ने भएपछि बेँसीसहरका व्यापारीहरुले समेत सामान पठाउन सहज भएपछि उत्साहित बनेका छन् । लामो समयसम्म ढुवानीदेखि खाद्यान्न सामग्रीहरु पठाउनलाई समस्या हुँदै आएको थियो । लमजुङ मनाङको एक मात्र बेँसीसहर चामे सडक भएकाले यी दुवै जिल्लाका व्यापारीहरुलाई सवारी साधनले सहज भएको उनीहरुको भनाइ छ ।

सडक अवरुद्ध हसँदा यातयात व्यवसायीहरुसमेत मर्कामा पर्दै आएका थिए । सडक अवरुद्ध भएपछि यात्रु तथा ढुवानी सामग्री ओसारपोसार गर्न नपाएपछि मर्कामा रहेका यस रुटमा चल्ने सवारी साधनका सञ्चालक तथा चालकसमेत हर्षित भएका छन् । सडक अवरुद्ध भएपछि मनाङ जान तथा आउनका लागि एउटै सहारा हेलिकप्टर रहेको थियो । नेपाली सेनाको हेलिकप्टरदेखि प्राइभेट हेलिकप्टरमा बेँसीसहरबाट आवश्यक ढुवानीका सामग्री खाद्यान्नलगायत राहतका सामग्रीसमेत लगिएको थियो ।

साथै कोभिडविरुद्धको खोप पनि हेलिकप्टरबाट नै पु¥याउनसपर्ने बाध्यता थियो । बेँसीसहर चामे सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहरदेखि ४० किलोमिटर दूरी खोत्रो सिरानतालदेखि ५० किलोमिटर तिमाङसम्मको बीच भागमा अवरुद्ध भएको सडक खुलेसँगै बेँसीसहर चामे सडकमा सिधै सवारी आवतजावत हुँदा यतिबेला यात्रु तथा ढुवानी गर्नका लागि केही सहज भएको छ ।

अविरल वर्षासँगै गत असार १ गते आएको बाढीपहिराले सोबाहेक विभिन्न ठाउँमा सडक क्षति बनाएको थियो । सडक क्षति तथा अवरुद्ध बनाएको लमजुङ खण्डको बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भीर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकास्थित अरखलेबेँसी, घोप्टे भीर, स्यागे, सिरीचौर, म्यार्दी भीर, रामबजार निरको अवरुद्ध सडक ५२ दिनपछि सञ्चालनबाट सञ्चालनमा आएको छ । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । हिमाली जिल्ला मनाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण सुरु गरेको थियो । योजना कार्यान्वयन भएसँगै माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । सोसँगै अन्य विविध कारणले अवरुद्ध भएको सडक निर्माणको जिम्मा तत्कालीन शाही नेपाली सेनालाई दिएको थियो । विसं ०५७ मा सेनाले सडक निर्माणको जिम्मा पाएर काम अघि बढाएर विसं ०६९ मा सम्पन्न गरेर सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

सवारी चढ्न मनाङवासीको सपना सडक निर्माण सुरु भएको १८ वर्षपछि मात्रै बेँसीसहर–चामे सडकखण्ड निर्माण पूरा भएको थियो । नेपाली सेनाले बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भएको थियो । यस सडकमा बर्सेनि बाढीपहिराले विशेषगरी बर्खायाममा सकड अवरुद्ध बनाउँदै आएको छ । सडक सञ्चालन भएयता यसरी लामो समयसम्म सडक अवरुद्ध भएको भने यो पहिलो पटक हो । यहाँ अघिकांश जीपहरु तथा मालवाहक सवारी साधन सञ्चालन हुने गर्दछ । मस्र्याङ्दी नदी माथि माथि हुँदै यस सडकमा सवारी साधन आवतजावत हुने गर्दछ ।