आधारभूमि संवाददाता
काठमाडौं, असोज २०
भन्सार विभागले गत वर्ष मात्रै अवैध रुपमा भित्रिएका सामान तथा सवारी साधन बेचेर ३७ करोडल ९१ लाख कमायो । जबकी अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २८ करोड २६ लाख थियो ।
अर्थात अवैध रुपमा सामान भित्रिने क्रम बढेसँगै भन्सार कार्यालयहरुले त्यस्तो सामान बेचेर कमाउने रकम पनि बढेको छ । सामानसँगै आएका जफत गरिएका सवारी साधन अहिले ७ सय ५८ वटा भन्दा बढि रहेका छन् ।
भन्सार नतिरि आएका सामानसँगै ति बोकेर आएका सवारी साधन पनि भन्सार विभागले जफत गर्ने गरेको छ । अहिले मूख्य भन्सार कार्यालयहरुमा ७ करोड मूल्य बराबरका ७ सय ५८ वटा सवारी साधन यसरी जफत गरेर राखिएका छन् ।
थोत्रा भइसकेकाले यि को मूल्य भने ७ करोडको हाराहारीमा पर्न आउने भन्सार कार्यालयहरु बताउँछन् । यसरी कार्यालयको परिसरमा थुप्रिएका सवारी साधन अधिकांश अवैध रुपमा सामान भित्राउने समुहहरुको हो ।
अवैध रुपमा भित्रिएका सवारी साधन भन्सार विभागले बेच्दैन मात्रै सरकारी कार्यालयहरुलाई माग अनुसार उपलब्ध पनि गराउँछ । अर्थ मन्त्रालयले निर्णय गरेपश्चात कार्यालयहरुले सुराकीलाई दिनुपर्ने रकम बुझाएर गाडि लान सक्छन् ।
महामारीका समयमा सरकारले सवारी साधनमा रकम खर्च नगर्ने नीति अपनाएका बेलामा यसरी गाडी लाने क्रम पनि बढेको कार्यालयहरु बताउँछन् । ंमहामारीका समयमा पनि यसरी अवैध सवारी साधन जफत हुने क्रम भने नघटेको भन्सार विभाग बताउँछ ।
महामारीका कारण भन्सार कार्यालयहरुले सामान लिलामी गर्न कठिन भएको छ । यता सवारी साधनको चाप कम भएकाले प्रहरीले चोरीको सामान सहजै पत्ता लगाउने गरेका छन् । जसका कारण सामानसँगै सवारी साधन जफत हुने क्रम बढेको छ ।