• गृहपृष्ठ
  • मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगर र नागार्जुन नगरपालिकाबिच सम्झौता

मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगर र नागार्जुन नगरपालिकाबिच सम्झौता

Oct 4th, 2021

काठमाडौ, असोज १८

मानवसेवा आश्रमको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र मानवसेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ । उक्त भवनको नाम सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम रहने भएको छ ।सहयोगापेक्षी सडक आश्रित मानवहरुको व्यवस्थापन गरिरहेको मानवसेवा आश्रमको भवन निर्माणका लागि आज एक भएको एक समारोहमा काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर खड्का र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त भवन निर्माणका लागि नागार्जुन नगरपालिकालेवडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको जग्गा उपलब्ध गराएको छ । त्यसको निर्माणका लागि काठमाडौं महानगरपालिकाले द्धिबर्षीय योजना अन्तर्गत बजेटको व्यवस्थापन गर्ने छ । त्यस्तै मानवसेवा आश्रमले काठमाडौं महानगर र नागार्जुन नगरपालिका क्षेत्रभित्र भेटिएकाका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ ।

भवन निर्माणको कार्य वि.स २०७८ साल भित्र प्रारम्भ भई वि.स २०८० भित्रमा सम्पन्न गर्ने उल्लेख छ । यस कार्यका लागि आवश्यक प्राविधिक सहयोग, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरिवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने जिम्मेवारी नागार्जुन नगरपालिकाको रहने छ ।सम्झौता कार्यक्रमको अध्यक्षता नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले गरेका थिए । त्यस्तै प्रमुख अतिथिको रुपमा कार्यक्रम काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य रहेका थिए । यस्तै दुवै स्थानीय तहका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।