• गृहपृष्ठ
  • राजविराज–रुपनी सडकमा खाल्डाखुल्डीः चालकलाई सास्ती, यात्रुलाई त्रास

राजविराज–रुपनी सडकमा खाल्डाखुल्डीः चालकलाई सास्ती, यात्रुलाई त्रास

Oct 3rd, 2021

राजविराज, १७ असोज /रासस

राजविराजबाट रुपनीतर्फ आउँदै गरेको हाइसका चालक हरि मण्डललाई सडकका खाल्डाखुल्डी छल्न हम्मेहम्मे परेको छ । उनी घरीदायाँ काट्छन्, घरी बायाँ । त्यति गर्दागर्दै पनि हाइसको डम्फर ठाउँ ठाउँमा ठोकिन्छ । त्यसको आवाजसँगै यात्रुहरु तर्सिन्छन् ।

यो दृष्य कुनै कच्ची वा ग्राभेल सडकको भने होइन । राजविराजबाट रुपनीका लागि यातायातका साधनहरु गुड्ने राजविराज– रुपनी सडक खण्डको हो । लामो समयदेखि मर्मत नहुँदा चालकहरुलाई त सास्ती छ, नै यात्रुहरु पनि त्रसित छन् । “के गर्नु सडकभरी खाल्डाखुल्डी छन्, कसरी चलाउनु रु”, चालक मण्डलले भन्नुभयो, “यात्रुहरु छिटो जाउँ भन्छन्, सडकको अवस्था यस्तो छ ।” पटक पटक ब्रेक लगाउनु पर्दा गाडी तात्ने गरेको समेत उहाँको भनाइ छ ।

उहाँले दैनिक सयौंको सङ्ख्या सवारी तथा मालवाहक साधन गुड्ने यो सडकको मर्मतका लागि कुनै कसैले पनि चासो दिएको छैन् भन्नुभयो । उहाँले भन्नुभयो, “राजविराज आउन जानका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले यसै सडकको प्रयोग गर्छन् तर उनीहरुको आँखा सडकमा लाग्दो रहेनछ ।”

रुपनी रोडको पराडाइजहोटेल नजिकै खाल्डो परेको सडकका कारण दैनिक मानिसलाई आवतजावतमा कठिनाई भइरहेको पाइएको छ । जीर्ण अवस्थामा रहेको यो सडकमा दैनिक चल्ने सयौं सवारीसाधनको पार्टपूर्जासमेत हल्लिने गरेको गाडी चालकको गुनासो छ । यस्तै राजविराज रुपनी सडकखण्डको आँखा अस्पताल नजिकमा पनि २/३ फिट गहिरो खाडल छन् । जसमा दिनँहु गाडी फस्ने, जाम हुने र बिग्रिने समस्या चालकहरुले भोग्दै आएका छन् । यो सडक खण्डमा दैनिकरुपमा जेसिबी, ट्रिपर, ट्रक , बस, ट्र्याक्टर, कार दर्जनौं मात्रामा चल्ने गरेका छन् । साथै दैनिक सयौं पटक टिपर आउजाउ गर्ने गरेका कारणले सडकमा अहिले ठूलठूला खाल्डो परेर सडक बिग्रिएको अवस्थामा रहेको छ ।

“यो सडकमा गाडी हाक्नुभन्दा कच्ची सडकमा सजिलो हुन्छ । कम्तीमा कच्चीमा एक सुरले जान त पाइन्छ”, चालकहरु भन्छन्, “सडक मर्मतको जिम्मेवारी पाएका कार्यालयका ‘हाकिम साब’हरुका गाडी पनि यसै वाटोबाट गुड्ने गरेका छन् तर कसैले पनि यसप्रति चासो राखेको पाइँदैन ।” सडक मर्मत नहुनुमा सङ्घीय र स्थानीय सरकारको लापरवाही भएको उनीहरुको आरोप छ । चालकले खाल्डा छल्दा गाडी सडकको डिलमा पुग्ने गरेको यात्रुको भनाइ छ । “मोडमा खाल्डा छन्, चालकले खाल्डा बचाउने भन्दै डिलमा पु¥याउँछ”, राजविराजका राजेश यादवले भन्नुभयो, “त्यतिवेला अब हामी मरेर बाँचेको अनुभूति गर्छौ ।” यो सडकको यात्रा हाम्रा लागि जीवन मरण जस्तै भएको उहाँको भनाइ छ ।

उहाँले वर्षेनी सडक मर्मतको नाममा टालटुल गर्ने तर गुणस्तरीय काम नहुने भएकाले यो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेता, कर्मचारी, ठेकेदार सबै मिलेका छन्, काम गरे जस्तो मात्रै गर्छन्, बजेट सिध्याउँछन् ।” सप्तरीको राजविराज–रुपनी सडक खण्डको दुर्दशाले सवारीसाधन सञ्चालन गर्न सकस भएको छ । सडक डिभिजन कार्यालय लहानले सडक निर्माण कार्यलाई अधुरै छोडेपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको चालकको गुनासो छ ।

“तीव्र गतिमा गाडी आइरहेको हुन्छ, खाल्डा आउँदा घच्याक्क ब्रेक लाउँछन्, हामी यात्रुहरु छल्लिन्छौं । यो पीडा हामीले कसलाई सुनाउने रु” यात्रु शिवकुमार यादवको भनाइ छ । सडकको दुवैपाखामा खाल्डो खनेर अलपत्र छाडिएकाले मूलसडकमा क्षति भएको स्थानीयवासीको भनाइ छ । सडक विभाग र निर्माण कम्पनीले निर्माण कार्य अधुरो छोडिदा मूलसडकको कालोपत्रमा पनि भारी बोकेर आएका साधन भासिएर बाटो अवरुद्ध हुने गरेको पाइएको छ । “सडक निर्माण कार्यलाई अधुरो छोडिदा दुर्घटनाको जोखिम उत्तिकै रहेको छ”, यादवले भन्नुभयो, “बर्सेनि सडक पेटी खन्ने र ग्राभेल हाल्ने कार्य हुन्छ तर कुन निकायले काम गरेको हो त्यसको पनि अत्तोपत्तो छैन ।”