• गृहपृष्ठ
  • गति बढाउँदै छ होटल तथा पर्यटन व्यवसायले

गति बढाउँदै छ होटल तथा पर्यटन व्यवसायले

Oct 1st, 2021

नेपालगञ्ज, १५ असोज /रासस

कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउनतथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले अहिले विस्तारै गति लिन थालेको छ । पर्यटन गन्तव्यको केन्द्रबिन्दुका रुपमा रहेको नेपालगञ्जबाट कैलाश मानसरोबर, बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य गरेर यहाँ पाँच तारेसहित अन्य सुविधा सम्पन्न होटल खुलेका छन् ।

होटल व्यवसायी भीमप्रसाद कँडेलका अनुसार एक दशक यता यहाँ पाँचतारे, चार तारे र तीन तारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । “पछिल्लो सयम लगभग थला परेको यहाँका ठूला मात्र हैन ससाना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्”, उहाँले भन्नुभयो ।

साविकको सुदूरपश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चलको व्यापारिक, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाका केन्द्रका रुपमा रहेको नेपालगञ्जका होटल व्यवसाय राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट उम्कन नपाउँदै लकडाउनले पनि थप कठिन मोडमा पु¥याइदिएको थियो । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र लुम्बिनी प्रदेश भएर यसको अस्थायी राजधानी बुटवल हुनाले पनि नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहँुदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्दै आएको थियो । अहिले लकडाउन धेरै हदसम्म खुकुलो भएपछि आफूहरूको कारोबार पनि बढ्न थालेको होटल व्यवसायी सन्तोष गुप्ताको भनाइ थियो ।

यहाँका होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटल निकैस्तरीय छन् । लकडाउन धेरै खुकुलो भएपछि भारतीय र आन्तरिक पर्यटकका कारण अहिले जेनतेन व्यवसाय चल्दै आएको व्यवसायीहरूले बताए । जिल्लास्थित होटल व्यवसायी महासङ्घका अनुसार नेपालगञ्जमा ठूला तथा स्तरीय होटल तथा पर्यटन व्यवसायमा पछिल्लो छ वर्षयता करिब रु सात अर्बभन्दा बढी लगानी भएको थियो ।

यहाँको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगञ्जमा मेरो प्लानेट, फनपार्क, वाटरपार्क, नेपालगञ्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्ति तालजस्ता पर्यटकयीय क्षेत्रको विकास र विस्तार गरिएको छ । यसैगरी नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगञ्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएको बताइएको छ ।

यहाँकै ऐतिहासिक रानीताल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघिसम्म जीर्ण अवस्थामा रहेको वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक यस ताललाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्क अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ ।

स्थानीय तहको गठनपछि रानी ताललाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उपमहानगरपालिकाको करिब रु २५ लाखको लागतमा पुनःनिर्माण गरिएको पार्क अवलोकनका लागि पश्चिम जिल्लाका वासिन्दाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।

यसैगरी नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा पाइन्छ । यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिर विस्तार, कान्तिताल निर्माण र वाटरपार्क संचालनको प्रक्रियासमेत अघि बढाइएको नगर प्रमुख राणाले बताउनुभयो ।