• गृहपृष्ठ
  • ६ हप्तामै लगानीकर्ताले ७ खर्ब गुमाए,अबको बजार के होला ?

६ हप्तामै लगानीकर्ताले ७ खर्ब गुमाए,अबको बजार के होला ?

Oct 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज १५

पछिल्लो ६ हप्तामा सेयरबजार लगानीकर्ताले ७ खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । लगानीकर्ताले नाफा बुक गर्न खोजेकाले बजार घटेको देखिएको हो ।

त्यसैगरि नियामक निकायहरुले पछिल्लो समय सेयरबजार प्रभावित हुने गरि बनाएका नीतिल ेपनि नेप्से ओरालो लागेको हो । राष्ट्र बैंकले सेयरकर्जा एक ब्यक्ति वा संस्थाले १२ करोड भन्दा बढि लिन नपाउने व्यवस्था गरेको छ । जसको असर पनि सेयरबजारमा परेको हो ।

ब्याज माथि जान नपाओस् भनेर राष्ट्र बैंकले पटक पटक गरेर डेढ खर्बको अन्तरालमा १ खर्ब १० अर्बको रिपो जारी गरिसकेको छ। तरपनि ब्याजदर उकालो लाग्न र तरलता अभाव हुन छाडेको छैन । तरलता अभावको असर सिधा सेयरबजारमा परेको छ।

भदौ २ गते सेयरबजार ३१ सय ९८ अंकमा पुगेको थियो । अझ १ गते त बजार ३२ सयमा पुगेर ३१८० मा आएर बन्द भएको थियो । अर्थात ३२ सयमा पुगेको बजार ६ हप्तामा ५ सय ६५ अंकले घटेर २६ सय ५१ मा आइपुगेको छ।

बैंकको बढ्दो ब्याजदर, नियामक निकायको सेयरकर्जामा कडाई र चाडपर्ब नजिकिएकाले गर्दापनि बजारमा गिरावट आएको बिश्लेषकहरुको भनाई छ ।

तरलता अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । यता सेयर कर्जा पनि बैंकहरुले कम गर्दै लगेका छन् । बैंकहरुको लगानी राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र तोकेकोमा केन्द्रित भएकाले सेयरकर्जा पाउन पनि लगानीकर्ताहरुलाई कठिन हुन थालेको छ । जसको सिधा असर बजारमा देखिएको हो ।

बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत पुराएका छन् । तरलताको अभाव चर्किएकाले कात्तिकमा यो अझै बढ्ने देखिन्छ । बढ्दो ब्याजका कारण लगानीकर्ता प्यानिक भएका छन्, जसको असर बिहिबारको बजारमा पनि देखिएको छ ।

बिश्लेषकहरु बजार अझै ताल जान सक्ने बताउँछन् । साथै बजार ह्वात्तै बढेकाले यसरी झर्नुलाइृ पनि स्वाभाविक मान्नुपर्ने तर्क गर्छन् ।

करिब डेढ महिनाको अन्तरालमा लगानीकर्ताको सम्पत्ति समेत ७ खर्ब ८२ अर्बले घटेको छ । भदौ २ गते ४४ खर्ब ६८ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति बिहिबार ३६ खर्ब ८६ अर्बमा सिमित हुन पुगेको छ।