बैंकिङ् कसूरका फरार प्रतिवादी पक्राउ

Sep 30th, 2021

काठमाडौ, असोज १४

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिआईबीका अनुसार काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका वडा नम्वर ६ बस्ने नारायण भक्त संगतलाई आज बिहिबार काठमाडौको सिफलबाट पक्राउ गरिएको हो ।
सिआईबीका अनुसार संगतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट बिसं २०७७ माघ २७ गते प्रतिवादी संगतको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र १० लाख रुपैंया जरिवाना ठहर भएको थियो ।

त्यसपछि फरार रहेका संगतलाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित विशेष टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।