• गृहपृष्ठ
  • दक्षिण एसियामै पहिलोपटक जंगल सफारी र ट्रेकिङ सुरुगरेपनि व्यवसायमा नेपालको बिस्तार सुस्त

दक्षिण एसियामै पहिलोपटक जंगल सफारी र ट्रेकिङ सुरुगरेपनि व्यवसायमा नेपालको बिस्तार सुस्त

Sep 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज १४

दक्षिण एसियामै पहिलो पटक जंगल सफारी, ट्रेकिङ, बन्जी जम्प जस्ता गतिबिधी सुरु गरेपनि यसलाई खासै बढाउन सकिएको छैन । अस्थिर नीतिका कारण बिदेशी लगानीकर्ता समेत नेपालको पर्यटन क्षेत्रबाट बाहिरिएको अवस्था छ ।

भारत र भुटानले नेपालकै सिको गरेर जंगल सफारी, ट्रेकिङ तथा हाइकिङको ब्यापार बढाएका छन् । तर, हाम्रोमा भने सुरुवात गरिएका व्यवसायलाई आक्रामक रुपमा बिस्तार गर्न सकिएको छैन ।

गत वर्ष महामारीका कारण पर्यटक आउन सकेनन् । आर्थिक वर्ष २०७६/०७७ मा ११ लाख पर्यटक आए । ४ वर्ष अघि यस्तो संख्या ७ लाख ५३ हजार थियो । अर्थात ४ वर्षमा पर्यटक आगमन ५८ प्रतिशतले बद्धि भएको छ । तर विदेशी पर्यटकबाट हुने आय भने जम्मा ४६ प्रतिशत मात्रै बढेको छ ।

पर्यटक आगमन केहि मात्रामा बढेपनि उनिहरुको बसाई खास लम्ब्याउन सकिएको छैन । आर्थिक वर्ष २०७३/०७४ मा एक पर्यटकको औसत बसाई १३ दिन हुने गरेकोमा यो २ दिन बढेर जम्मा १५ दिन पुगेको छ ।

स्तरीय होटल १३ सय १३ वटा छन् र यि होटलमा ४५ हजार बेड छन् । अर्थात एक दिनमा ४५ हजार पर्यटक धान्न सक्ने होटलको क्षमता छ । तर, अस्थिर नीतिका कारण छिमेकी देशकै पर्यटक तान्न सकिएको छैन ।

पर्यटन क्षेत्रको प्रचार प्रसार छिमेकी मुलुक छाडेर अमेरिका तथा युरोप केन्द्रित हुनु र ट्रेकिङ रुटमै सडक निर्माण जस्ता गल्तीका कारण पर्यटन क्षेत्र उकालो लाग्न नसकेको जानकारहरुको भनाई छ ।

१० वर्ष अघि मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा १ दशमलव ७० प्रतिशत थियो । जुन योगदान अहिले पनि यसकै वरिपरि रहेको छ । अर्थात अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ्न सकेको छैन । पर्यटकका लागि आवश्यक नयाँ गन्तब्य र नयाँ गतिबिधी बढाउन नसक्दा उनिहरुको बसाई लम्ब्याउन सकिएको छैन । जसका कारण पर्यटक बढेअनुसार आम्दानी बढाउन सकिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको बिकल्पमा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सुरु गरिएपनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन । जसका कारण नसक्दा १२ सय ५० जनालाई सेवा दिने क्षमता राख्ने त्रिभुवन बिमानस्थलले अहिले ३ हजार जनलालाई दैनिक सेवा दिनुपर्ने बाध्यता छ ।

द्रुत गतिमा गुड्न सक्ने सडक निर्माणको अभाव मात्रै होइन सडकको मर्मत देखि फोहर व्यवस्थापनमा समेत चुक्दा पर्यटकको बसाई लम्ब्याउन नसकिएको पर्यटन व्यसायीहरु बताउँछन् ।

भौतिक पूर्वाधारको बिकासमा कमि, नीतिगत अस्थिरतासँगै वास्तवीक पर्यटक आगमन हुने क्षेत्रमा प्रचारप्रसार गर्न नसक्दा अपेक्षित मात्रामा पर्यटक आगमन बृद्धि त गर्न सकिएको छैनन नै उनिहरुको बसाई पनि खासै लम्ब्याउन सकिएको छैन । जसका कारण मुलुकले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने लाभ बढाउन सकेको छैन ।