• गृहपृष्ठ
  • पर्यटन प्रवद्र्धन गर्न अन्तरप्रदेश समझदारी

पर्यटन प्रवद्र्धन गर्न अन्तरप्रदेश समझदारी

Sep 23rd, 2021

गण्डकी, ७ असोज /रासस

पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश र प्रदेश नं २ का बीचमा अन्तरप्रदेश समझदारी भएको छ । समझदारीमा पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सिधा हवाइ सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिइने उल्लेख छ । त्यस्तै धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिको आदानप्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने, जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवद्र्धनमा जोड दिने र दुवै प्रदेशका सहकार्यका क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याउने समझदारीमा उल्लेख छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजन एवं गण्डकी प्रदेश सरकारका निमन्त्रणामा पोखरा भ्रमण रहनुभएका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा सो समझदारी भएको हो ।

भ्रमण टोलीसँग आज गरिएको आन्तरिक पर्यटन प्रवद्र्धन तथा अन्तर प्रदेश अनुभव आदानप्रदानको अन्तक्र्रियात्मक कार्यक्रमपश्चात् नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहनप्रसाद शर्माले मुख्यमन्त्रीद्वयको रोहबरमा सो समझदारीमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री राउतले गण्डकी प्रदेशसँग पर्यटकीयलगायतका हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको जनाउँदै दुवै प्रदेशको हितका लागि एकताबद्ध प्रयास गर्ने बताउनुभयो । हवाई सेवाका साथै सडक यातायात सञ्जाललाई व्यवस्थित गर्नु जरुरी भएको र भारतीय पर्यटकलाई अधिकतम भित्र्याउने सोचका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न एकापसमा सहकार्य आवश्यक रहेको बताउनुभयो । दुबै प्रदेशबीच पर्यटकीय सम्भावनालाई उजागर गर्दै अघि बढ्नका लागि सहकार्यका साथ अघि बढ्ने उहाँको भनाइ छ ।

सो अवसरमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटनको विकासका लागि पूर्वाधार विकाससँगै पर्यटकीयस्थलको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो । दुवै प्रदेशका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्दै हवाइ तथा सडक सञ्जाललाई प्रभावकारी बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नाट्टा केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँ, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सिग्देल, नाट्टा प्रदेश नं २ का अध्यक्ष शर्मा, गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, सुबोधकुमार गुप्ता, युवराज लामा, गणेश लाठलगायतले पर्यटनलगायतका हरेक क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरेको जनाउँदै सरकारले लगानीको सुरक्षाका साथै प्रोत्साहित गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले मुख्यमन्त्री राउत नेतृत्वको टोलीको गण्डकी प्रदेश भ्रमणसँगै दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।