• गृहपृष्ठ
  • व्यसायीक निरन्तरता कर्जामा राष्ट्र बैंक असफल, एक वर्षमा जम्मा ७२ जनाले लाभ पाए

व्यसायीक निरन्तरता कर्जामा राष्ट्र बैंक असफल, एक वर्षमा जम्मा ७२ जनाले लाभ पाए

Sep 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३ असोज

कोरोना महामारीका परेका व्यवसायीलाई प्रदान गर्नेगरि नेपाल राष्ट्र बैंकले व्यवसायीक निरन्तरता कर्जा योजना ल्याएको एक वर्ष बित्यो । तर यो एक वर्षमा जम्मा ७२ जना ऋणीले मात्रै यस्तो लाभ लिएका छन् । अर्थात व्यवसायीक निरन्तरता कर्जामा नेपाल राष्ट्र बैंक असफल भएको छ ।

देशमा सञ्चालित साना तथा मझौला उद्योगधन्दा भने ४ लाख १८ हजार छन् ।जसमध्ये अधिकांश महामारीका कारण थलिएको राष्ट्र बैंकको अध्ययनले नै देखाएको थियो । ६१ प्रतिशत उद्योगधन्दा पुर्ण रुपमा बन्द भए भने जम्मा ४ प्रतिशतले मात्रै नियमित सञ्चालनमा रहन सकेको आकडा छ।

महामारी सुरु भएकै महिनाबाट उद्योगीले कर्मचारीलाई तलब खुवाउन बन्द गरेका थिए महामारीको मारमा परेका उद्योगधन्दा सञ्चालनमा आउन सकुन् र कर्मचारीले पनि नियमित तलब पाउन सकुन् भनेर गत वर्षको जेठमा आएको बजेटले व्यवसायीक निरन्तरता कर्जा दिने व्यवस्था गरेको हो ।

महामारीबाट थलिन पुगेका उद्योगीलाई दिने कर्जाको कार्यविधी बन्नै सात महिना लाग्यो त्यसपछिका कार्यविधी बनेपछिका १० महिनामा जम्मा ७२ जनाले मात्रै यस्तो कर्जा पाएका छन् ।

यस्तो कर्जा प्रभावकारी हुन नसक्नुमा बैंक तथा वित्त संस्थाले यस्तो कर्जाको मागै नभएको बताउँछन् भने उद्योगीहरु यसमा बैंकहरुको यसमा असहयोग रहेको बताउँछन् ।

कार्यविधी अनुसार २०७६ फागुन मसान्तसम्म बैंकिङ प्रणालीबाट कर्मचारीको तलब खुवाएको हुनुपर्ने र दर्ता प्रमाणपत्र नविकरण भएको हुनुपर्ने व्यवस्था छ, जुन उद्योगीले पुरा गर्न सकेका छैनन् । साथै उद्योगीले कर चुक्ता गरेको प्रमाणपत्र पनि पेश गर्न सकेका छैनन् ।

व्यवसायीले कर्जा नपाएको गुनासो एकातिर छ भने बैंकहरुले कर्जाको माग नआएको बताइरहेका छन् । यस्तो बेलामा राष्ट्र बैंक भने यसमा मौन छ । यस्तो कर्जा कसरी प्रभावकारी बनाउने भन्ने जिम्मा राष्ट्र बैंकको भएपनि त्यसमा राष्ट्र बैंकले कुनै पहल गरेको छैन । यता सरकारी अधिकारीहरु मन्त्रालयसम्म कुनै गुनासो नआएकाले तत्काल कार्यविधी संसोधन गरि यसलाई प्रभावकारी बनाउने कुनै योजना नरहेको बताउँछन् ।

कर्जा नै नजाने गरि बनाइएको कार्यविधी त बाधक छदैछ । ५ प्रतिशत भन्दा बढि ब्याज लिन नपाइने यस्तो कर्जामा बैंक तथा वित्त संस्थालाई जम्मा तीन प्रतिशत मात्रै नाफा हुनाले बैंकको अनिच्छा पनि कर्जा नजानुको अर्काे कारण हो । व्यवसायिक निरन्तरता कर्जा प्रभावकारी हुन नसकेको बारेमा बैंक र उद्योगीबिच एक अर्कालाई आरोप लगाउने क्रम बढेको छ। बैंकहरु यस्तो कर्जा माग्नै नआएको बताउँछन् भने उद्योगीहरु बैंकले यस्तो कर्जा नै दिन नखोजेको बताउँछन् । तर यसको समस्याको समाधान निकाल्ने पक्षमा न अर्थ मन्त्रालय नत नेपाल राष्ट्र बैंक नै देखिन्छ।