• गृहपृष्ठ
  • अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

Sep 18th, 2021

अल्जेरस, २ असोज /रासस/एएफपी

अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उहाँको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उहाँले झण्डै दुई दशक अल्जेरियामा शासन गर्नु भएको थियो ।

उहाँले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिनु भएको हो ।
देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहनु भएका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिनु भएको थियो । आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उहाँले बताउनु भएको थियो । उहाँले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।

आन्दोलनबाट सत्ताबाट बाहिरिनु भएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आउनु भएको थियो । उहाँ लामो समयदेखि सार्वजनिक हुनु भएको थिएन । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उहाँ पहिलो पटक सन् १९९९ मा राष्ट्रपति हुनु भएको थियो । फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उहाँले गरेको योगदानका कारण उहाँ उच्च सम्मानित हुनुहुन्थ्यो ।