• गृहपृष्ठ
  • मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरिँदै

मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरिँदै

Sep 10th, 2021

बागमती, २५ भदौ /रासस

मानव स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिएको ड्रागन फ्रुटको मकवानपुरमा व्यावसायिक रुपमा खेती सुरु गरिएको छ । पछिल्लो समय करोडौँ लगानी गरी यहाँका किसान ड्रागन फ्रुटको व्यावसायिक खेती गर्न लागिपरेका छन् ।

जिल्लामा दुई वर्षयता १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै आएको छ । सो खेतीको विस्तार क्रमशः बढ्दै गएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । जिल्लाको गर्मी ठाउँमा यसको व्यावसायिकरुपमा खेती भइरहेको छ । करेसाबारी, घरको छतमा तथा खेतमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

“जिल्लालाई ड्रागन फ्रुटमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ”, अर्यालले भन्नुभयो । जिल्लाको मनहरि, बकैया, मकवानपुरगढी तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ठाउँमा ड्रागन फ्रुटको व्यावसायिक खेती भइरहेको छ । सबैभन्दा बढी हेटौँडा–११, १२ र १७ मा यसको खेती गरिएको छ । “धेरैले घरको छत र करेसावारीमा ड्रागन फ्रुट लगाउने गरेको पाइएको छ”, अर्यालले भन्नुभयो ।

ड्रागन एक पटक लगाएपछि २० वर्षसम्म सोही बिरुवाबाट फल दिने गर्दछ । दुई वर्षदेखि ड्रागन खेतीमा समपिर्त मनहरिका हरिशरण अर्याल लगानीअनुसार प्रतिफल प्राप्त भइरहेको बताउनुहुन्छ । बाह्र कट्ठा जग्गामा यसको खेती सुरु गर्नुभएका उहाँले वर्षेनी विस्तार गर्र्दै लैजानु भएको छ । अर्यालले प्रतिकिलो ड्रागन रु ६ सयदेखि रु सात सयसम्ममा बिक्री गर्दै आउनुभएको छ । नेपालमा पछिल्लो समय ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल दाङ, चितवन, झापा, धनकुटालगायत जिल्लामा व्यावसायिक रुपमा यसको खेती गरिँदै आएको छ ।

मनहरि, मकवानपुरगढी र थाहा नगरपालिका कृषि र पशुपालनका लागि नमूना क्षेत्र मानिन्छन् । यहाँको प्रमुख आयस्रोत नै कृषि र पशुपालन हो । जिल्लामा हाल साना ठूला गरी ७० भन्दा बढी पशुपालन केन्द्र सञ्चालनमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।