• गृहपृष्ठ
  • संघीयता अनुकूल सिकाइ संस्कृति विकासको लागि शिक्षक तालिम

संघीयता अनुकूल सिकाइ संस्कृति विकासको लागि शिक्षक तालिम

Sep 8th, 2021

काठमाडौ, भदौ २३

मुलुकको राष्ट्रिय आकांक्षा स्तरोन्नति, विकास र समृद्धि हासिल गर्न राष्ट्रिय सबलता अभिवृद्धि गर्न आवश्यक हुन्छ । मुलुकको आन्तरिक सबलता हासिल गर्न मुख्यतया तीन वटा आयाममा जोड दिनुपर्छ ।

राष्ट्रिय सदाचार प्रणाली, राष्ट्रिय बौद्धिक ढुकुटी निर्माण र राष्ट्रिय उत्पादनशील क्षमता मुलुकको शिक्षक तालिम कार्यक्रमहरू यिनै तीनवटा आयामलाई चलायमान र मजबुदीकरण गर्ने दिशातर्फ उन्मुख छन् । शिक्षक तालिम कार्यक्रमहरू विशेषतः जीवन र जगत जोड्न, सिप र दक्षताबिच सहसम्बन्ध स्थापित गर्न, समन्यायिक र गुणात्मक सिकाइ सुनिश्चित गर्न केन्द्रित छन।यसका साथै नियमित र निरन्तर सोध, खोज, अनुसन्धान, प्रतिविम्बन गर्न रनवप्रवर्तन भित्र्याउन, जीवनपर्यन्त सिकिरहन, सिक्ने र सिकाउने संस्कृतिको निर्माण गर्न, प्राविधिक, दक्ष, नैतिकवान र बौद्धिकवान जनशक्ति विकास गर्नका लागि स्टिम अर्थात साईन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स शिक्षा र मेस अर्थात मिडिया, लिटे«सी, इथिक्स, सोसियोलोजी एण्ड हिस्ट्री शिक्षाको तादात्म्यता र सामञ्जस्यता कायम गर्ने ध्येयका साथ शिक्षक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने प्रयास भएका छन् ।

यसका लागि शिक्षक तालिमको जीवन रेखाको रूपमा सूचना तथा सञ्चार प्रविधिलाई अवलम्बन गरिएको छ । अनलाइन/भर्चुअल तथा मिश्रित विधि, आमनेसामने विधि, सहकार्यात्मक र अनुसन्धानात्मक विधिहरू प्रयोगमा ल्याईएका छन् । शिक्षक तालिममार्फत शिक्षकहरूको कार्यदक्षता र क्षमता अभिवृद्धि हुनुको साथै स्वअध्ययन संस्कृतिको विकास गरी विज्ञ नै सबैथोक हो भन्ने परम्परागत विश्वास, मान्यता र अभ्यासलाई विस्तारै विस्थापित गर्ने प्रयत्न गरिएको छ ।

स्वनिर्देशित र स्वनियमनको वातावरण तयार गरी सिक्ने र सिकाउने प्रक्रियामा आफ्नोपनको विकास गरी सिकाइप्रति अपनत्व हासिल गर्ने दिशातर्फ मुलुकको शिक्षक तालिम कार्यक्रमहरूले विस्तारै फड्को मार्दैछन् । संघीय संरचना यस किसिमको रूपान्तरणको लागि स्वर्णीम अवसर देखिन्छ ।

तालिम कार्यक्रमहरूलाई संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक, नतिजामूलक र सबल ढङ्गबाट यसको साझा लक्ष्य–“सिकाइप्रति श्रद्धाभाव जागृत“ गराउनका लागि यो ठुलो अवसर हो । हालको संघीय संरचना अनुसार संघ अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई प्रमाणीकरण र पुनर्ताजगी तालिमहरूको पाठ्यक्रम तर्जुमा गर्ने, मापदण्ड विकास गर्ने, नमुना तालिम सामग्रीहरू विकास गर्ने र आवश्यकता अनुसार प्रदेश शिक्षा तालिम केन्द्रहरूको संस्थागत क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका क्षमता विकास तालिमहरू सञ्चालन गर्ने कार्यादेश रहेको छ ।

प्रदेश शिक्षा तालिम केन्द्रलाई शिक्षक पेसागत विकासमा प्रत्यक्षरूपमा संलग्न भई तालिम कार्यक्रमहरू सञ्चालन गर्ने कार्यादेश रहेको छ । नयाँ संघीय संरचना र राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार स्थानीय तहलाई शिक्षक पेसागत विकासका लागि छोटा अवधिका तालिमहरू सञ्चालन गरी शिक्षकलाई पेसागत सन्तुष्टिसहित उच्च मनोवल र उत्प्रेरणा विकास गर्ने अवसर प्राप्त भएको छ । यसका साथै स्थानीय तहमा शिक्षक पेसागत विकास र सहयोग अभिवृद्धि गर्न शिक्षकहरूको सिकाइ सञ्जाल निर्माण आवश्यक छ । समग्रमा संघ, प्रदेश र स्थानीय तहबिच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्त अनुसार असल सम्बन्ध र अभ्यासको आदान प्रदान गर्दै सवैको जित र हितमा समर्पित भई संघीयता अनुकूल सिकाइ संस्कृति निर्माण गर्ने दिशातर्फ मुलुकको शिक्षक तालिम कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन भएका छन् । advt.