• गृहपृष्ठ
  • भारतमा २३ वर्ष अघि आएको किसान क्रेडिट कार्ड नेपालमा बल्ल सुरुवातीमा, के के छन् बिशेषता ?

भारतमा २३ वर्ष अघि आएको किसान क्रेडिट कार्ड नेपालमा बल्ल सुरुवातीमा, के के छन् बिशेषता ?

Sep 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं २०

छिमेकी मुलुक भारतमा करिब २३ वर्ष यतादेखि नै प्रचलनमा रहेको किसान क्रेडिट कार्ड नेपालमा भने बल्ल सुरुवातीमा छ । रकम अभावमा कोहि पनि कृषक खेतीपाती गर्नबाट बञ्चित नहोस् भनेर अघि बढाइएको यो योजनामा बिस्तारै कृषकको सहभागिता बढ्दै गएको छ ।

कृषकलाई मल तथा बिउ खरिद गर्ने पैसाको अभाव नहोस् भनेर सरकारले गत वर्षको बजेट मार्फत किसानलाई क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा गरेको हो । क्रेडिट कार्ड अहिलेसम्म ७ सय जनाले पाइसकेको कृषि बिकास बैंक बताउँछ । महामारीका कारण एम्पोस मेसीन तथा कार्ड छपाईमा ढिलाई भएकाले बैकले क्रेडिट कार्ड सहज रुपमा बिस्तार गर्न सकेको छैन ।

सहज रुपमा कृषकले ऋण पाउन , कृषकलाई रकमको अभाव नहोस् भनेर सरकारले यो योजना ल्याएको थियो । यो क्रेडिट कार्डबाट किसानले पसलबाट मल तथा बिउँ खरिद मात्रै होइन, दुध तथा तरकारी बेचेर प्राप्त भएको रकम खातामै जम्मा गर्न सक्छन् ।

कार्ड पाएका कृषकले कर्जा स्वीकृति गरेपछि यहि कार्डबाड दैनिक २ लाख सम्म खर्च गर्न सक्छन् । रकम लिन पटक पटक बैंक जानु पर्दैन । यो क्रेडिट कार्डको प्रयोग गरेर कृषि बिकास बैंकले तोकेका एजेन्टहरुबाट बिउ, मलका साथै कृषि सामाग्री खरिद गर्न सकिन्छ ।

कृषकले सामान खरिद गरेपछि एमपोसमा कार्ड रिड गराइन्छ र रकम भुक्तान गरिन्छ । स्मार्ट फोनको प्रयोग गर्न सक्ने किसानहरुले भने किसान एप मार्फत पनि सामान खरिद गर्न सक्ने बनाइएको छ ।