• गृहपृष्ठ
  • रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

Aug 27th, 2021

–मेनकाचौधरी, बाँके, ११ भदौ /रासस

नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६÷७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो ।

आव ०७७/७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारीदिनुभयो । उहाँका अनुसार आव ०७६/७७ मा रु ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो । आव ०७५/७६ मा रु ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उहाँले बताउनुभयो । आव ०७६/७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । “पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,” उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६/७७ को तुलनामा धेरै हो । उक्त आवमा रु एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा रु ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आव ०७६/७७ मा रु ४१ करोड ९३ लाखका क्लिङकर आयात भएको थियो । “सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,” कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।”