काठमाडौ, साउन ३२
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका– ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेकाछन् ।
यातायात कार्यालयहरूबाट जारी गरिने सवारीचालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वनरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएकाछन ।
तुलाधरले आफ्नै नाममा रहेको ०१–००–९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतीपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएको थिए । तुलाधर पक्राउपरेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो । दाहालको साथबाट गिताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमतीपत्र नं. ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ । ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी बृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।