• गृहपृष्ठ
  • नारद पोखरेलको उपन्यास ‘प्रतिघात’ विमोचित

नारद पोखरेलको उपन्यास ‘प्रतिघात’ विमोचित

Aug 7th, 2021

काठमाडौ, साउन २३

लेखक नारद पोखरेलको उपन्यास ’प्रतिघात’ विमोचन गरिएको छ । शुक्रबार काठमाडौंमा रहेको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गर्दै उपन्यासको लोकार्पण गरिएको हो ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । कार्यक्रममा उप्रेतीले पुस्तकको केही अंश पढेको र निकै रोचक लागेको बताए । उनले भने, ’पुस्तकले युवापुस्ताले देख्ने सपना किन साकार हुन्न भन्ने पक्षलाई राम्रोसँग जोडेको छ ।’

लेखक पोखरेलका अनुसार यस पुस्तकमा केही समय अगाडिको नेपालको राजनीतिक तथा सामाजिक अवस्थाबारे चित्रण गरिएको छ । पुस्तकमा पोखरेलले केही आफ्ना अनुभव तथा भोगाइलाई पनि समेटेका छन् । उपन्यासको मुख्य पात्र भने पोखरेलले आफ्नो साथीलाई बनाएका छन् ।

यसअघि दुई पुस्तक सार्वजनिक गरिसकेका लेखक पोखरेलले लामो समयदेखि पुस्तक लेख्ने फुर्सद पाएका थिएनन् । कोरोनाका कारण घरमा थुनिएर बस्नुपर्दा यो उपन्यास तयार भएको उनको भनाइ छ । उनले भने, ’लकडाउन भएको केही समय त सिनेमाहरू हेरेर बसियो । पछि त आफैँ छटपटी भयो । छटपटीलाई ठीक गर्न लेख्न थालेको त्यहीँ अहिले उपन्यासको रूपमा तयार भयो ।’ कार्यक्रममा समालोचकहरूले पनि पुस्तकले अघिल्लो पुस्तामा भएका घटनाक्रम र राजनीतिक पक्षलाई राम्रो शैलीमा विश्लेषण गरेको बताए ।

लेखकका भाइ भेषराज पोखरेलले नारद आफ्नोष परिवारको जेठो लेखकरहेको बताए । उनले भने, ’नारद दाइले सानो उमेरदेखि नै साहित्यमा रूचि राख्नुहुन्थ्यो । सानो उमेरदेखि नै उहाँ लेखनमा सक्रिय हुनुहुन्थ्यो । बीचमा केही समय हराए पनि अब पुनः उहाँको आगमन भएको छ । यो खुसीको कुरा हो ।’