• गृहपृष्ठ
  • राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

Jul 25th, 2021

काठमाडौँ, १० साउन /रासस

नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सो ब्यूरोले जनाएको छ । घिमिरेलाई जिल्ला अदालत झापाको आदेशले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।