• गृहपृष्ठ
  • भारतमा दैनिक सङ्क्रमण दर २.३१ प्रतिशत, चार करोड ३३ लाखभन्दा बढी खोपबाट लाभ लिन सफल

भारतमा दैनिक सङ्क्रमण दर २.३१ प्रतिशत, चार करोड ३३ लाखभन्दा बढी खोपबाट लाभ लिन सफल

Jul 25th, 2021

नयाँ दिल्ली, १० साउन /रासस/एएनआई

भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।

भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड सङ्क्रमणपछि निको हुनेको दर ९७।३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड–१९ सङ्क्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ ।

खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २।३१ प्रतिशत कायम भएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।