• गृहपृष्ठ
  • विद्यार्थीहरूले भौतिक उपस्थितिमा परीक्षा नगर्न आग्रह गरिरहे पनि त्रिविले कुनै पनि परीक्षा नरोक्ने

विद्यार्थीहरूले भौतिक उपस्थितिमा परीक्षा नगर्न आग्रह गरिरहे पनि त्रिविले कुनै पनि परीक्षा नरोक्ने

Jul 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ साउन

परीक्षा तालिका सार्वजनिक गरेको त्रिविले कुनै पनि परीक्षा नरोक्ने जनाएको छ । तर कोरोना महामारीको जोखिम कम नभएको भन्दै विद्यार्थीहरूले भौतिक उपस्थितिमा परीक्षा नगर्न आग्रह गरिरहे पनि त्रिविले भने परीक्षा नरोकिन जनाएको हो ।

स्नातक प्रथम वर्षका विद्यार्थीहरुले तत्काल भौतिक उपस्थितिमा परीक्षा दिन नसकिने भन्दै विरोध जनाइरहेका छन् । तर त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने कुनै पनि परीक्षा नरोकिने बताए ।

विद्यार्थीहरुका माग सम्बोधन गर्न नसकिने भएकाले परीक्षा नरोकिने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।परीक्षाको तयारी सम्पन्न भइसकेको र धेरै विद्यार्थीहरु भएकाले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले भौतिक रुपमा नै परीक्षा सञ्चालन हुने उनले बताए ।

कोरोना महामारी तीव्र रुपमा बढेर परीक्षा नै सञ्चालन गर्न नसक्ने अवस्था आएको खण्डमा बाहेक अन्य परिस्थितिमा परीक्षा नरोकिने उनको भनाइ छ ।

उनका अनुसार, विद्यार्थीहरूको सहजताको लागि त्रिविले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै निकायलाई आग्रह गरिसकेको छ । प्रवेश परीक्षा देखाएपछि विद्यार्थीहरुले सहज रुपमा आवतजावत गर्न पाउने गरी व्यवस्था मिलाइएको उनले बताएका छन् ।

‘अधिकांश विद्यार्थीले परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने धारण राखेकाले एकाध विद्यार्थीले हुँदैन भन्दैमा परीक्षा रोकिदैन ।’उनले भने

विद्यार्थीहरुलाई खोप प्रदान गर्नका लागि पनि सम्बन्धित निकायसँग त्रिविले पहल गरिरहेको उनले जानकारी दिए।

परीक्षा सेन्टरहरुमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागू हुने भएकाले ढुक्क भएर परीक्षाको तयारी गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

स्नातक प्रथम वर्षको वार्षिक परीक्षा यही साउन १० गतेदेखि सञ्चालन गर्ने गरी त्रिविले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।