• गृहपृष्ठ
  • कर्मचारीको तलब १ .९८ प्रतिशले बढ्दा तेलको मूल्य ३० प्रतिशतले बृद्धि, महामारीका बेलामा बढेको महंगीले जनतालाई सास्ती

कर्मचारीको तलब १ .९८ प्रतिशले बढ्दा तेलको मूल्य ३० प्रतिशतले बृद्धि, महामारीका बेलामा बढेको महंगीले जनतालाई सास्ती

Jul 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन ४

महामारीका कारण कैयन उद्योगधन्दा बन्द रहे त केहि आंशिक मात्रै खुला रहे । जसका कारण कैयन मजुदर रोजगारी बिहिन हुनपर्याे । कैयनले रोजगारीमा रहेपनि तलब पाएका छैनन् ।

ज्याला तथा मजदुरीमा काम गर्नेहरुले पाएको ज्यालामा भएको बृद्धिले तलब बढेको देखिएको हो । कामदार तथा निर्माण क्षेत्रमा काम गर्नेहरुको आम्दानी बढेको देखिएको भएपनि यस भित्रको वास्तवीकता अर्कै छ ।

उनिहरुको ज्याला बढेको हो । कुल आम्दानी भने बढेको छैन । महामारीका कारण आर्थिक क्रियाकलपा सुस्त भएकाले अधिकांश यस्ता क्षेत्रका काम नै बन्द रहे । जसका कारण उनिहरुको ज्याला बढेको देखिएपनि वास्तवीक रुपमा आम्दानी भने बढेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ जेठमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.९८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४० प्रतिशतले बढेको थियो । तर, ज्यालादर सूचकाङ्क भने २.५६ प्रतिशतले बढेको देखिन्छ । जसले नै तलब तथा ज्यालाको सुचक बढाएको हो ।

महामारीले तलब नबढेका बेलामा महंगी भने अकासिएको छ । बिशेषगरि भान्सामा प्रयोग हुने सामानको भाउ बढेको हो ।

२०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेलको मूल्य ३०.९८ प्रतिशत र सुर्तिजन्य पदार्थ९.८४ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ ९.८१ प्रतिशतले भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यबृद्धिका कारण यातायात उपसमुहको मूल्यवृद्धि ९.७० प्रतिशतले बढेको छ ।

२०७८ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंक बताउँछ ।

जेठ महिनासम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ ।

जेठ महिनासम्ममा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ जेठमा यी क्षेत्रहरुमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.९६ प्रतिशत रहेको थियो ।

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.६५ प्रतिशत, ९.५३ प्रतिशत र ३.९२ प्रतिशत रहेको छ । जेठ महिनासम्ममा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.१६ प्रतिशत रहेको नेपाल राष्ट्र बैकको निष्कर्ष छ ।