• गृहपृष्ठ
  • नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो

नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो

Jun 16th, 2021

काठमाडौ, असार २

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले उहाँलाई डिस्चार्ज दिएको हो ।

उहाँ साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली जानुभएको हो । नर्भिक अस्पतालमा रहँदा उहाँको अवस्था स्थिर रहेको थियो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उहाँलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उहाँको उपचार जारी राखिएको थियो । उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उहाँको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उहाँलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

उहाँमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।
उहाँलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो ।

दिल्ली उड्नुअघि पनि उहाँमा निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो । चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताउनुभएको छ । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।