भौतिक उपस्थितीमै भर्ना अभियान सुरु

Jun 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १ असार

नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यालयहरुले भर्ना अभियान शुरु गरेका छन । तर कोरोना महामारीका कारण दुई वर्ष देखि अस्तव्यस्त बनेको शैक्षिक सत्र यस वर्ष कसरी अगाडी बढने हो, भन्नेमा विद्यार्थी, अभिभावक र विद्यालयहरु चिन्तित देखिएका छन् ।

अहिले कोरोना महामारीका कारण ढिलाई भएको शैक्षिक सत्रलाई समायोजन गर्न भन्दै सरकारले यस शैक्षिक सत्रलाई १० महिनाको मात्र बनाएको छ । नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यालयहरुले विद्यार्थी भर्ना अभियान पनि शुरु गरेका छन् । अहिले विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुका अभिभावक विद्यार्थी भर्ना गर्न लाईनमा बसेको देख्न सकिन्छ ।

विगत २ वर्ष देखि अधिकाँश विद्यालयहरुले अनलाईन कक्षा संचालन गरि पठनपाठन गरिरहेका छन् । तर कमजोर आर्थिक स्थिती, उपकरणको अभाव, सुस्त इन्टरनेट सेवा र वैकल्पिक माध्यमबाट सिकाई प्रकृया कसरी अगाडी बढाउने पर्याप्त सिप शिक्षकहरुसँग नहुँदा अनलाइन कक्षा प्रभावकारी हुन नसकेको विश्वनिकेतन माविमा अध्यनरत श्रीशान्त गौतम बताउँछन् ।

पछिल्लो समय नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्था केही सुदृढ भएपनि सामुदायिक विद्यालयका अधिका्ँश विद्यार्थीको आर्थिक अवस्था त्यती राम्र्रो छैन । यस्तोमा सरकारले विद्यार्थीका लागि उपकरण र इन्टरनेट सुविधा उपलब्ध गराउन सरकारले सहयोग गर्नुपर्ने अभिभावकहरुको भनाई छ ।

यता शैक्षिक सत्र शुरु भएपनि शैक्षिक गतिविधिलाई कसरी अगाडी बढाउने विषयलाई लिएर विद्यालय प्रशासन चिन्तित देखिन्छ । निषेधाज्ञा लम्बिएको कारण अधिकाँश विद्यार्थी गृह जिल्ला फर्किएकोले अनलाइन कक्षा संचालनमा समस्या आएको र आफ्ना विद्यार्थीहरु ७७ बटै जिल्लामा छरिएर रहेकाले धेरै ठाउँमा नेटवर्कको समस्या रहेको प्रधानाध्यापक हेरम्वराज कँडेल बताउँछन् ।
विगत २ वर्षमा अनलाईन शिक्षा प्रणालिमा देखिएको समस्या यो वर्ष फेरी नदोहोरिएला भन्न सकिन्न त्यसैले हरेक बालबालिकालाई शिक्षाको पहँुच भित्र ल्याउनु सरकारको दायित्व हो ।