• गृहपृष्ठ
  • सोधनान्तर स्थिती ७ अर्ब ७५ करोडमा झर्याे, बैदेशिक मुद्रा सञ्चितीमा पनि कमि

सोधनान्तर स्थिती ७ अर्ब ७५ करोडमा झर्याे, बैदेशिक मुद्रा सञ्चितीमा पनि कमि

Jun 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १

बढ्दो आयातसँगै बैदेशिक लगानीमा आएको कमिसँगै देशको सोधानान्तर स्थिती ७ अर्ब ७५ करोडमा सिमित हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको देशको १० महिनाको वित्तीय स्थिती सम्वन्धि प्रतिबेदनमा गत असारको तुलनामा पहिलो पटक बिदेशी बिनिमय सञ्चिीत पनि घटेको देखिएको छ ।

गत पुषमा देशको सोधानान्तर स्थिती १ खर्ब २४ अर्ब रहेको थियो । रेमिट्यान्समा भएको बृद्धि तर आयातमा आएको कमिका कारण त्यो बेला सोधानान्तर स्थिती उच्च रहेको थियो ।

पछिल्लो समय बढ्दै गएको आयात र सोहि अनुपातमा निर्यात बृद्धि गर्न नसक्दा बाहिर जाने बिदेशी मुद्रा र भित्रिने रकमको अन्तर राख्ने यस्तो खाता आयतामा २२ प्रतिशतको बृद्धिसँगै खुम्चीन पुगेको हो ।

गत बैशाखसम्ममा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । यता निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४८ करोड पुगेको छ ।

निर्यातको तुलनामा आयात बापत बाहिरिने रकम ११ खर्ब ४६ अर्ब बढि भएकाले यसको प्रत्यक्ष असर सोधनान्तर स्थितीमा परेको हो ।

त्यस्तै शिक्षा तथा भ्रमण बापत भित्रिने रकम भन्दा बाहिरिने रकम बढि भएसँगै खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको बैशाखमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।

यो वर्षको १० महिनामा शिक्षातर्पmको व्यय मात्रै २२ अर्ब ५१ करोड रहेको छ । वैदेशिक लगानी पनि १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ।

यद्यपी रेमिट्यान्स भने १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ । भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढिभएसँगै २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई बैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यद्यपि यसले १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

गत चैतमा पनि यस्तो सञ्चिती १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको थियो ।