काठमाडौ, जेठ ३१
आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीले जेठ ३१ गते अर्थात आज सोमबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाण्डौंको लैनचौरस्थित रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सो सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५–०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५–०७६ को वासलात, नाफा नोक्सानहिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६–०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ भने विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएतापनि कम्पनीले सो बिषयलाई अवसरकोरुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनीहरु, कम्पनीप्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र वोर्ड लगायत सम्पूर्ण नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनी, कम्पनीको व्यवस्थापन समुह, कर्मचारीहरु, अभिकर्ताहरु, पत्रकारहरु, बैंक तथा वित्तीय संस्थाहरु एवं अन्य शुभेच्छुकहरु सवै प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स मार्फत गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।