• गृहपृष्ठ
  • बैंकहरुको शाखा सञ्चालन सम्वन्धी दैनिक कोटा प्रणाली खारेज

बैंकहरुको शाखा सञ्चालन सम्वन्धी दैनिक कोटा प्रणाली खारेज

Jun 14th, 2021

काठमाडौ, जेठ ३१

बैंकहरुको शाखा सञ्चालन सम्वन्धी दैनिक कोटा प्रणाली खारेज भएको छ । राष्ट्र बैकले असार एक गते मंगलबारबाट बैकहरुले ग्राहकको चाप र आवस्यकता अनुसार शाखा खोल्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको हो ।

काठमाडौ, भक्तपुर र ललितपुरका तीन वटै जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा सम्वन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएसंगै राष्ट्र बैंकले मंगलबार देखि नै कोभिड १९ को संक्रमण जोखिम न्युुनीकरण सम्वन्धी सबै उपायहरु अपनाएर शाखा सञ्चालन गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको दिएको हो । यसअघि भने काठमाडौ जिल्लामा बाँणिज्य बैंकहरुको हकमा तीन वटा, बिकास बैंकहरुको हकमा दुुई वटा र फाईनान्स कम्पनीहरुको हकमा एउटा, ललितपुर जिल्लाको हकमा बाँणिज्य बैंक तर्फ दुुई वटा, बिकास बैंक तर्फ एउटा र फाईनान्सको हकमा एउटा र भक्तपुर जिल्लाको हकमा बाँणिज्य बैंकतर्फ एउटा, बिकास बैंक तर्फ एउटा र फाईनान्सको तफबाट पनि एउटा शाखा खोल्न पाउने गरी कोटा प्रणाली तोकिएको थियो । नयाँ सुचना अनुसार जेठ १० गते जारी भएको शाखा सञ्चालनमा रहेको यो कोटा प्रणाली खारेज भएको हो ।

यो व्यवस्था खारेज भएपछि बैंक तथा फाईनान्स कम्पनीहरुले नेपाल सरकार तथा बिश्व स्वास्थ संगठनको सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा जोखिमलाई न्युनीकरण गर्न आवस्यक सम्पुर्ण उपायहरु अवलम्वन गरी बित्तीय सेवा सञ्चालन गर्न सक्नेछन । आफ्नो व्यवसायीक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुुने कामको लागि मात्र कार्यालयमा कर्मचारी उपस्थित गराई बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, कोभिड १९ को संक्रमण जोखिम न्युनीकरणको लागि निशेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रिय कार्यालयको हकमा एक तिहाई कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म कम कर्मचारीहरुको उपस्थितीमा न्युनतम शाखाबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।