• गृहपृष्ठ
  • सर्कुलर ट्रेडिङको आशंकामा कम्पनीहरुमाथि छानवीन थाल्यो, अस्वाभाविक कारोबार भएका कम्पनी निशानामा

सर्कुलर ट्रेडिङको आशंकामा कम्पनीहरुमाथि छानवीन थाल्यो, अस्वाभाविक कारोबार भएका कम्पनी निशानामा

Jun 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, जेठ ३१

सर्कुलर ट्रेडिङको आशंकामा धितोपत्र बोर्डले ५६ वटा कम्पनीहरुको कारोबारमाथि छानवीन थाल्ने भएको छ । बोर्डले सर्कुलर ट्रेडिङको आशंकामा जनउत्थान लघुवित्त, पूर्वाधार बिकास बैंक, अजोड इन्स्योरेन्स, अपि र राधी जलविद्युत लगायतका कम्पनीको छानबिन थालेको छ ।

शंकास्पद कारोबार बढेपछि धितोपत्र बोर्डले सेयरबजारमा अस्वाभाविक रुपमा भाउ बढेका कम्पनीहरुको बारेमा छानवीन गर्न थालेको छ ।

फ्रेस भ्यालुभन्दा नेटवर्थ कम भएका, मूल्य आम्दानी अनुपात पीइ १ सयभन्दा बढि भएका र प्रतिकित्ता सेयर आम्दानी ऋणात्मक रहेका कम्पनीको दिनप्रतिदिन उचालिएको सेयर मूल्य शंकास्पद रहेको भन्दै बोर्डले त्यस्ता कम्पनी माथि छानवीन थालेको हो ।

स्रोतका अनुसार बोर्डले अस्वाभाविक रुपमा मूल्य बढाइएको आशंकामा ५६ वटा कम्पनीको सेयर कारोबारमाथि छानबिन सुरु गरेको हो ।

छानबिन थालिएका अधिकांश जलविद्युत कम्पनी छन् । बोर्डको छानबिनको सूचिमा चन्द्रागिरी हिल्स पनि रहेको बुझिाएको छ ।

बोर्डले जेठ २५ गते प्रेस विज्ञप्ति जारी गरी शेयर कर्नरिङ र सर्कुलर ट्रेडिङको गुनासा आएकाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरिसकेको छ।

महामारीका कारण अर्थतन्त्र शिथिल भएर कम्पनीहरुको नाफा घट्ने स्थितीमा सेयरबजारमा भने उछाल आएको छ । लाभांस दिएको इतिहास नै नभएको र आगामी दिनमा पनि प्रतिफल दिन नसक्ने कम्पनीको पनि बजारमा अस्वाभाविक मूल्य बढेको देखिन्छ ।

कम्पनीबाट प्रतिफल पाउने संंभावना नहुँदा आँखु खोला , दिब्यश्वरी र जोशी हाइड्रोपावरको मूल्य अस्वाभाविक रुपमा बढेको छ। प्रवद्र्धकले मनपरी खर्च गरेर आयोजनाको लागत बढाई सर्वसाधारणको लगानी जोखिममा पारेका यि आयोजनामा लगानीकर्ता अहिले कम्पनीको वित्तीय रिपोर्ट बिश्लेषण नगरि नै होमिएका छन् , यसले भोली लगानीकर्ता डुब्ने जोखिम देखिन्छ ।

अहिले बिशाल बजार कम्पनीको मूल्य ६ हजार ६ सय २३ रुपैयाँ पुगेको छ । जसले अहिलेसम्म लगानीकर्तालाई कुनै लाभांस नै दिएको छैन । ५ करोड चुक्ता पुँजीको यो कम्पनीको मूल्य गत वर्षको साउनमा प्रतिकित्ता १५ सय ५० रुपैया थियो । अर्थात लाभांस दिने कुनै पनि संकेतसम्म नहुँदा यो कम्पनीको मूल्य साढे तीन गुणाले बढेको छ ।

यता अघिल्लो वर्ष ३० प्रतिशतको हाराहारीमा लाभांस दिएको एनएमबी बैंकको मूल्य अहिले प्रतिकित्ता चार सय ४७ रुपैयाँ छ । तर, सोहि दरमा लाभांस दिने साल्ट ट्रेडिङको मूल्य १० हजार ८ सय दुई र कायम छ ।

१५ प्रतिशत भन्दा बढि लाभांस दिन नसकेका फाइनान्स कम्पनीका मूल्य पनि १ हजार माथि छन् । जसले गर्दा कतै सर्कुलर ट्रेडिङ गरेर बजार बढाउनेहरु सक्रिय भएका त होइनन् भनेर बजारमा आशंका बढेको छ । त्यसैले केहि दिन अघि सेयरबजारमा केहि समुह मिलेर अस्वाभाविक रुपमा बजार बढाएको भन्दै धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत रहन आग्रह मसेत गरिसकेको छ ।