• गृहपृष्ठ
  • बैदेशिक लगानी भित्राउन अब राष्ट्र बैंकको अनुमति नचाहिने, लाभांस फिर्ता स्वीकृति १५ दिनभित्र

बैदेशिक लगानी भित्राउन अब राष्ट्र बैंकको अनुमति नचाहिने, लाभांस फिर्ता स्वीकृति १५ दिनभित्र

Jun 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ २६

विदेशी लगानी नेपालमा भित्राउनका लागि अब नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ । उद्योग विभाग तथा लगानी बोर्डले स्वीकृत गरेपछि त्यस्तो रकम बाणिज्य बैंकहरुमा जम्मा गर्न सकिने गरि नेपाल राष्ट्र बैंकले मंगलबार नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गरेको छ।

यसअघि लगानी बोर्ड र उद्योग बिभागले बैदेशिक लगानी स्वीकृत गरेपछि स्वीकृत विदेशी लगानीको रकम भित्राउन पुन राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने थियो । तर अब भने यस्तो स्वीकृति आवश्यक पर्नेछैन । अब लगानी बोर्ड र उद्योग विभागबाट लगानी स्वीकृत भएपछि राष्ट्र बैंकलाई लिखित जानकारी दिए मात्रै पुग्नेछ । त्यसपछि बैंकिङ प्रणालीबाट विदेशी मुद्रा भित्राउन सकिन र बैंकहरुले त्रैमासीक रुपमा यसरी भित्रिएको रकमको बारेमा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।

साथै यसरी देशमा आएको रकम निवेदन आएको ७ दिन भित्रमा राष्ट्र बैंकले लेखाङ्कन गर्ने व्यवस्था गरिएको छ । साथै विदेशी लगानीबाट आर्जित लाभांस विदेश लानका लागि राष्ट्र बैंकले १५ दिनभित्रै स्वीकृति दिने व्यवस्था गरिएको छ। यसअघि के कति दिनमा यस्तो स्वीकृति दिने भन्ने कुनै व्यवस्था थिएन ।

अमेरिकि डलर १० लाख वा त्यो भन्दा तलको बैदेशिक लगानीको रकममा लेखापरिक्षणको कागजात अनिबार्य हुननपर्ने व्यवस्था गरिएको छ । यसअघि स्वीकृत भएर आएर लगानी लेखाङ्कन गराउनका लागि राष्ट्र बैंकले सुचना निकाल्ने भएको छ ।

विदेशी ऋणको स्वीकृति र लेखांकनलाई पनि सरल बनाइएको छ। बिदेशी ऋण लिन भने राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था कायमै छ । तर कागजात पुराएर निवेदन दिएमा १५ दिनभित्र स्वीकृति गरिदिने व्यवस्था गरिएको छ । ऋण लेखाङ्कन ६ महिनाभित्र गर्नु पर्छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीले बैदेशिक लगानी भित्राउन सहज हुने र यसले डुइङ बिजेनेशमा पनि नेपालको स्थानमा सुधार आउने बिज्ञहरु बताउँछन् ।

यसअघि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत भएका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंक आएसँगै बैदेशिक लगानी सहज रुपमा भित्राउन प्रक्रिया छोट्याउने गरि बिनियमावली बनाउन निर्देशन दिएका थिए । जसबमोजिम नै बिदेश लगानी भित्राउने र लाभांस लाने प्रक्रियालाई सहज बनाइएको छ, जसको कार्यान्वयन कस्तो हुन्छ भन्ने त हेर्न बाँकि नै छ ।