• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरु बिच छलफल

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरु बिच छलफल

May 21st, 2021

काठमाडौं, जेठ ७

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र नेपाल प्रहरी अस्पताल महाराजगंजकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह लगायतका अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरु बिच शुक्रबार प्रहरी प्रधान कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरका कारण संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्थामा यसको नियन्त्रण तथा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिने चिकित्सक तथा कर्माचारीहरुले सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी उपचाररतप्रति अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा संलग्न हुनुपर्ने बताउनुभयो ।

अस्पतालमा उपचाररत विरामीहरु प्रति गरिने व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ नियन्त्रणमा गर्न सकिने सबै प्रयासलाई थप प्रभावकारी रुपमा लैजान नेपाल प्रहरी अस्पतालले अझ सक्रिय रुपमा भूमिका वहन गर्नुपर्ने बताउनुभयो । अस्पताललाई आवश्यक पर्ने श्रोत साधन उपलब्ध गराउनका लागि प्रहरी प्रधान कार्यालय सदैव तत्पर र क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

छलफलका क्रममा नेपाल प्रहरी अस्पतालकी मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पतालको गतिविधि तथा कोभिड–१९ नियन्त्रणको लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराउनु भएको थियो । साथै उपस्थित अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरुले आ–आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति रहेको थियो ।