‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

May 20th, 2021

धनगढी, ६ जेठ /रासस

कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा हुनुहुन्छ ।

तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाउनुभएका रामलालले सुखड, बौनिया, बलियालगायतका बजारमा आफ्ना उत्पादन बेच्दै आउनुभएको तर निषेधाज्ञाले चौपट भएको गुनासो गर्नुभयो । अहिले बजार बन्द भएको र वरपरका मानिसहरू तरकारी लिन आएपनि त्यो बिक्रीले व्यवसायमा केही फरक नपर्ने उहाँको भनाई छ । निषेधाज्ञाले व्यापार नहुँदा मेहेनत गरेर उब्जाएका तरकारी बारीमै सड्दा रुन मन लाग्ने चौधरीको भनाइ छ । सामान्य अवस्थामा एक सिजनमा तरकारी बेचेर पाँच लाख रुपैयाँसम्म बचत हुने गरेको रामलाल सुनाउनुहुन्छ । “तर के गर्नु दुःख ग¥यो ग¥यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, गत वर्ष पनि यही समयमा लकडाउनले तरकारी सबै खेर गयो”, रामलालले सुनाउनुभयो ।

रामलाल जस्तै सोही ठाउँका श्यामलाल चौधरी पनि तरकारी बिक्री गर्ने सिजनको समयमा निषेधाज्ञा भएपछि चिन्तित हुनुहुन्छ । श्यामलालले एक बिगाहामा उत्पादित तरकारी बिक्री गर्न पाउनु भएको छैन । “उत्पादित तरकारीले बजार नपाउँदा बैकको ब्याज तिर्न समस्या हुनुका साथै उत्पादित तरकारी बारीमै सड्दा निकै पिर लाग्ने गरेको छ”, श्यामलालको भनाइ छ ।