दुबई पुगेका चार युवा अलपत्र

May 11th, 2021

दमक, २८ वैशाख /रासस

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् ।

काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्याक्ट्रीमा काम दिने भन्दै जनही रु एक लाख ७० हजार असुलेर भ्रमण प्रवेशाज्ञामा विदेश पठाएका थिए । भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पीडित युवा निरज मगरले बताउनुभयो ।

सामाजिक सञ्जालमा आफ्ना पीडा राख्नुहँुदै पीडित युवा निरजले जति छिटो उद्धार गरिदिन आग्रह गर्नुभएको छ । “यहाँ हामी एकै ठाउँमा कोचिएर भोकै बस्नु परेको छ”, उहाँले भन्नुभयो, “विदेशको सपना देखाएर हामीलाई यहाँ बिजोग बनाए, हामीलाई जतिसक्दो छिटो घर पठाउने व्यवस्था गरिदिनुप¥यो ।” विदेश पठाउने प्रतिनिधिलाई भने पनि आलटाल गरिआएको सुमनकी आमा सविता सुवेदीले बताउनुभयो । उहाँले विदेशमा गएर मासिक कम्तीमा रु एक हजार ड्राम्स पाउने भनेर विदेश पठाएका हुन् । अहिले विदेश पठाउने दलालमध्येका विक्रम राईले भने अनुसार काम दिलाउन नसकिएको तर अन्यत्र काम गर्न नमानेका कारण समस्या आएको बताउनुहुन्छ ।