• गृहपृष्ठ
  • चालु खाता १ खर्ब ४८ अर्बले घाटामा, सोधनान्तर स्थिती भने ५६ करोडले बचतमा

चालु खाता १ खर्ब ४८ अर्बले घाटामा, सोधनान्तर स्थिती भने ५६ करोडले बचतमा

Apr 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, बैशाख १५

मुलुकबाट बाहिरिने रकम तथा भित्रिने रकमलाई चालु खातामा राखिन्छ । कुल यस्तो खाता गत वर्षको तुलनामा थप घाटामा गएको छ । अहिले चालु खाता १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।

त्यस्तै अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .३७ अर्ब ८४ करोडले बचतमा रहेकोमा अहिले ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

त्यस्तै पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई .११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई .१० अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्मा राज्यसँग १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । जुन अहिले २.५ प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई .१२ खर्ब ६६ अर्ब १० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.० प्रतिशतले कमी आई १ खर्ब ७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।