• गृहपृष्ठ
  • कोभिड त्रासले पर्वतका सबै विद्यालय बन्द

कोभिड त्रासले पर्वतका सबै विद्यालय बन्द

Apr 28th, 2021

पर्वत, १५ वैशाख /रासस

कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसिएमसी०को समन्वयमा पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।

जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण देखिएको र छिमेकी नगरका विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको लक्षण देखिएकाले नगरपालिकाले वैशाख १७ गतेसम्म नगरअन्तर्गतका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार कोरोना सङ्क्रमण बढेका कारण विद्यालय बन्दको अवधि बढ्नसक्छ । उहाँले चैत १७ गतेसम्मको अवधिमा देखिने प्रभावलाई मूल्याङन गर्दै नगरपालिकाले थप निर्णय गर्ने बताउनुभयो ।

छिमेकी जिल्ला बागलुङमा धमाधम विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जलजला गाउँपालिकाले भौतिक उपस्थितिमा पठनपाठन अनिश्चितकालका लागि बन्द गरेको छ । वैशाख १३ गतेदेखि पालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयलाई भुर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँले पठनपाठनसँगै परीक्षासमेत स्थगन गरिएको बताउनुभयो ।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले वैकल्पिक माध्यमवाट कक्षा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले विद्यालय प्रशासन खुला भए पनि विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेको बताउनुभयो । फलेवास नगरपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाअन्तर्गत सम्पूर्ण विद्यालय वैशाख २१ गतेसम्म बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहादीले वैशाख २२ गतेसम्म र मोदी गाउँपालिकाले वैशाख १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय जनाएका छन् ।

यता महाशिला गाउँपालिकाले भने नियमितरूपमा कक्षा सञ्चालन गरिएको बताएको छ । गाउँपालिका प्रवक्ता जीवन उच्चै ठकुरीले विद्यालयमा सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरेको प्रतिक्रिया दिनुभयो । उहाँले आइतबारदेखि दुई चरणमा वार्षिक परीक्षा सञ्चालन गर्नेसमेत बताउनुभयो । महाशिला गाउँपालिकामा कोरोनाको प्रभाव खासै नदेखिएकाले नियमितरूपमा विद्यालय सञ्चालन गर्ने उहाँको भनाइ छ ।

जुम्लामा विद्यालय पनि बन्द

खलङ्गा– कोराना सङ्क्रमणदर तीव्ररूपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ ९आज०देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण हुन नदिनका लागि वैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँले बताउनुभयो ।

तत्कालका लागि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईँले भन्नुभयो, “निर्णयबमोजिम यहाँका सरकारी तथा सामुदायिक विद्यालयमा पत्राचार हुनेछ । बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्ने मानिसको लगत सङ्कलन गर्ने, जुम्ला–कालिकोटको सिमाना नाग्ममा हेल्प डेस्क स्थापना गर्ने र प्रत्येक वडास्तरमा लगत सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको हो ।”

यसैगरी गाउँपालिकाभित्र सङ्कलन भएको लगत जानकारी गराउनका लागि हरेक गाउँपालिकामा सम्पर्क व्यक्ति तोक्नेसमेत निर्णय भएको सहायक प्रजिअ चौलागाईँले बताउनुभयो । “कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले नगरपालिका, गाउँपालिकामा सभा, समारोह, भेला, गोष्ठी गर्दा बढीमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्ता काममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने, घटना घटिसकेको अवस्थामा चाहिने सामग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसँग सहयोग माग्नेसमेत निर्णय भएको छ ।

हरेक गाउँपालिकाले कोभिड–१९ नियन्त्रणसम्बन्धी रणनीतिक योजना बनाउनुपर्ने र तीन दिनपछि बस्ने सङ्कट व्यवस्थापन समितिको बैठकमा पेश गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो जुम्लामा नौ सङ्क्रमित भेटिएका छन् । अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परीक्षण उनीहरूमा सङ्क्रमण भेटिएको हो ।