तेह्र सय दीक्षित

Apr 27th, 2021

चितवन, १४ वैशाख /रासस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षासँगै उत्पादन र प्रसारलाई सँगै लिएर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले विश्वविद्यालयले दक्ष अनुशासित कृषि र वन प्राविधिक उत्पादन गरेको बताउनुभयो । “यहाँबाट उत्पादित विद्यार्थीको ज्ञानलाई देश विकासमा लगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले शिक्षासँगै प्रसारणमा गरेको योगदानले महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ उत्पादित विद्यार्थीलाई देशको विकासमा लगाउनुपर्छ ।” त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानतर्फ मन्त्रालय लागेको उहाँको भनाइ छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी, रजिष्ट्रार डा शारदा थपलियाले विश्वविद्यालयको विविध विषयमा प्रकाश पार्नुभएको थियो । दीक्षान्त समारोहमा एक हजार २५७ विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी भएका थिए । स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

स्नातक तहमा कृषितर्फ ५१२, वन विज्ञानतर्फ २२४, पशु चिकित्सातर्फ १४० र मत्स्य विज्ञानतर्फ ४४ जना सहभागी भएका थिए । यस्तै स्नातकोत्तर तहमा कृषितर्फ २२५, जैविक प्रविधितर्फ छ, वन विज्ञानतर्फ १४, पशु विज्ञानतर्फ ३२, पशु चिकित्सातर्फ ३८, र मत्स्य विज्ञानतर्फ सात जना सहभागी भएका थिए । विद्यावारिधितर्फ १५ विद्यार्थी सहभागी भए । विश्वविद्यालयले नेपालका विभिन्न स्थानमा रहेका सात कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । तीमध्ये छ कृषि सङ्काय र एउटा वन विज्ञान सङ्कायको छ ।