• गृहपृष्ठ
  • मंगलबारदेखि एभरेष्ट स्कुलका सम्पूर्ण कक्षाहरु अनलाइनमार्फत्

मंगलबारदेखि एभरेष्ट स्कुलका सम्पूर्ण कक्षाहरु अनलाइनमार्फत्

Apr 26th, 2021

भक्तपुर, बैशाख १३

भौतिक उपस्थिति र अनलाइन कक्षा दुवै सञ्चालन गरिरहेको भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलले मंगलबारदेखि सम्पूर्ण कक्षा अनलाइनमार्फत् मात्रै सञ्चालन गर्ने भएको छ ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले मंगलबार अन्तिम दिनको कक्षा १० को एसईई तयारी परीक्षा पनि अब अनलाइनबाटै लिने निर्णय भएको सुनाए । कोरोनाको वढ्दो संक्रमणलाई ध्यान दिंदै अन्तिम दिनको बाँंकी एउटा परीक्षा पनि अनलाइनबाटै लिने निर्णय भएको उनले सुनाए ।
स्कुलले गतवर्ष २०७७ को वैशाख ८ गतेदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो । यो वर्ष भने वैशाख ६ गतेबाट नै अनलाइन कक्षा सञ्चालन थालेको थियो । यो वीचमा स्कुलले कोरोना संक्रमणको दर घटन थालेर जनजीवन समान्य हुन थालेसँंगै २०७७ फागुन ३ गतेबाट कक्षा ८, ९ र १० को अनलाइन कक्षा बन्द गरी भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको थियो । तर केही विद्यार्थी संक्रमित देखिएपछि फेरि त्यो कक्षा फागुन १४ गतेबाट नै बन्द गरी अनलाइनमार्फत् कक्षा सञ्चालन थालेको थियो ।

यो वीचमा स्कुलले कक्षा ५ सम्मका नानीहरुलाई सिफ्ट वाइज वैशाख ६ र ७ गते भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको थियो । तर विद्यार्थीको न्युन उपस्थिति अनि अभिभावकको अनुरोधमा पुनः त्यसलाई बन्द गरी अनलाइन कक्षा सञ्चालन गरेको थियो ।

स्कुलका शिक्षक जगननाथ खतिवडाले स्कुलको अनलाइन कक्षा भौतिक उपस्थितिको कक्षा भन्दा कम नभएको बताए । अनलाइन कक्षाको प्रभावकारीता भौतिक उपस्थितिमा जस्तो प्रभावकारीता नभए पनि एभरेष्ट स्कुलको अनलाइन कक्षाको प्रभावकारीताको दुरी धेरै नरहेको उनले बताए ।
स्कुलमा प्ले ग्रुपदेखि कक्षा १० सम्मकै अनलाइन कक्षाहरु सञ्चालन हुने गरेको छ । प्ले ग्रुपदेखि कक्षा ३ सम्मको व्लककी कोअर्डिनेटर सुजिता लिम्वूले ससाना विद्यार्थीलाई दिनको दुई बजेदेखि दैनिक एक घण्टा अनलाइन कक्षा चलाउने गरेको सुनाइन् । विद्यार्थीलाई अनलाइनमार्फत् नै कथा सुनाउने, गीत गाउन लगाउनेलगायत खेलको माध्यमबाट सिकाई प्रक्रिया हुने भएकोले ससाना विद्यार्थीको अनलाइन कक्षा पनि सम्भब भएको उनले सुनाइन् । आफनै दाइदिदीहरुको अनलाइन कक्षा सकिने समयमा उनीहरुको सहयोगमा ससाना नानीहरुको अनलाइन कक्षा सम्भब भएको उनले सुनाइन् । साथै टेक्स बुकका साथै अडियो, भिडियो पनि अनलाइन क्लासमा हुने भएकोले उनीहरुको कक्षा अझ वढी प्रभावकारी देखिएको उनले सुनाइन ।